कृत्रिम खुट्टा पाउने आसामा सुन्तली कुमाल
राजेन्द्र खनाल, कपिलवस्तु । घर छेवैमा घना जङ्गल, नजिकै खोला । जहाँ वर्षाै देखि बस्दै आएका छन्, एक विपन्न परिवार । झट्ट हेर्दा लोपुन्मुख राउटे जातिको जस्तै बसोबास । उनी हुन कपिलवस्तुको बणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित नरबहादुर कुमाल । आर्थिक विपन्नता र गरिबीका कारण उनको परिवार वन क्षेत्रमा छानो हालेर गुजारा चलाईरहेका छन् । यही परिवारमा छिन नरबहादुरकी छोरी सुन्तली कुमाल । जो जन्मिएको केही महिना मै अपाङ् बन्न पुगिन ।
सानैमा ओगोले जलेर उनको दुबै खुट्टाका केही भाग गुमे । समयमा उपचार नपाउँदा हाल उनी अपाङ्ता भएर बाचिरहेकी छन् । विभिन्न सामाजिक संघ सस्था र स्थानीयको सहयोगमा कुमाल परिवारले हाल बसिरहेको स्थानमा सामान्य झुपडी बनाएर गुजारा चलाइहेका भए पनि सुन्तलीको खुट्टाले कृत्रिम खुट्टा पाउन सकिरहेको छैन । उनी हाल कक्षा १० मा अध्ययनरत छिन् । उनको उपचारका लागि विभिन्न संघ संस्था र निकायबाट पहल नभएको होइन । तर नरबहादुरले अरुको जिम्मा छोरीलाई नलगाउने बताएपछि उनी कष्टकर जीवन बिताउँन बाध्य छिन् । नरबहादुर सुकुमबासी तथा भुमिहीन नागरिक हुन । दुई श्रीमति र ८ सन्तान सहित उनको दैनिकी निकै कष्टपूर्ण वितिरहेको छ । दैनिक मजदुरी गरी खाने उनी नदी तटीय क्षेत्रमा एक जंगलको किनारामा सानो झुपडीमा उनको परिवार बस्दछन् । घरको नाममा छानो मात्रै छ । एक छोरा र तीन छोरी सहित हाल ६ जनाको परिवार उनको सोही झुपडीमा बसोबास गर्दै आएका छन् ।
सुन्तलीको कृत्रिम खुट्टाका लागि पहल
श्री शुद्धोधन जन जीवन मावि जिनुवाको कक्षा १० मा अध्ययनरत सुन्तली उमेरले १४ वर्ष पुगिन् । उनको कष्टकर शारिरिक अवस्थालाई विद्यालयमा कार्यरत शिक्षक कमल पौडेले देखेपछि उनको कृत्रिम खुट्टा बनाउन पहल थाले ।
उनले सुन्तलीको तस्बिर र उनको पारिवारीक अवस्थाबारे नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यालाई जानकारी गराए र उपाध्याले आफ्नो सामाजिक सञ्जाल मार्फत उनको तस्बिर सार्वजनिक गरेपछि अहिले सुन्तलीका लागि सहयोग समेत प्राप्त भएको छ । सामाजि सञ्जाल मार्फत सामाजिक तथा राजनितिक गतिविधिमा खरो उत्रने उपाधयासँग शिक्षक कमल पौडेलले सुन्तलीको अवस्था बारे जानकारी गराएपछि उनको उपचारका लागि समेत अहिले थप पहल भइरहेको हो ।
विद्यालयमा आफूले पढाइरहेका बेला सुन्तलीको उक्त अवस्था देखिएपछि विभिन्न सामाजिक संघ सस्थासँग समेत उनको कृत्रिम खुट्टा लगाउने विषयमा पहल भइरहेको शिक्षक पौडेलले बताए । शिक्षक पौडेलका अनुसार सुन्तलीको कृत्रिम खुट्टा बनाउनका लागि कावासोती स्थित चौधरी फाउण्डेसनले निशुल्क सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । यसबाहेक अन्य केही संस्थाहरुले समेत उनको उपचारका क्रममा हुने अन्य खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उता भीम उपाध्ययका माध्यमबाट सुन्तलीका लागि झण्डै १ लाख २५ हजार नगद रकम संकलन भइसकेको छ । संकलन भएको रकम कपिलवस्तुको चार नम्बर जितपुर स्थित एन.आइ.सी एसिया वैँकमा उनको नामको खाता खोलि जम्मा गरिदिएको शिक्षक पौडेलले बताए । यस्तै उनलाई एक थान मोवाइल फोन, लत्ता कपडा लागाएतका केही सामाग्री किनेर वडा अध्यक्ष कमल पौडेलका माध्यमबाट सुन्तलीका परिवारलाई हस्तान्त्रण समेत गरिएको छ । उनको दैनिकीलाई सहज बनाउने कामका लागि शिक्षक पौडेलले विशेष पहल गरेका छन् भने यस कार्यमा भीम उपाध्याय समेत लागेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सुन्तलीको सहयोगका लागि अपिल गरेका छन् । सुन्तलीको नाममा सहयोग गर्नेहरुको नामावली समेत उपाध्यायले सामाजिक सञ्जालबाटै सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो तीन दिनमा एक लाख बढी रकम संकलन भएको छ भने उपचारमा सहयोग गर्न चाहने संस्थाहरु समेत बढीरहेका छन् । सुन्तलीको नाममा सहयोग प्राप्त रकम मध्ये ५० हजार रकम उनकै नाममा एक वर्षका लागि फिक्स डिपोजिट गरिदिएको शिक्षक पौडेलले जानकारी दिए ।
जीवनका १४ वर्ष अपाङ्गता सहित कष्टकर जीवन भोगिरहेकी सुन्तलीको धेरै अध्ययन गर्ने रहर छ । पारिवारिक आर्थिक अवस्था र गरिबीका कारण पढ्न पाउदीन की भन्ने चिन्ता पनि छ । उनी कक्षा १० सम्मको अध्ययन खाली खुट्टा नै विद्यालय र घर आउजाउ गरिन । अहिले कृत्रिम खुट्टा बनाउने कुराले उनलाई नयाँ जीवनको आशा पलाएको छ ।
सुन्तलीको उपचार गराएर उनको खुट्टाको हालको कष्टपुर्ण दैनिकी हटाउन अहिले पहल भइरहेको शिक्षक पौडेलले बताएका छन् । उनको त्यो कष्टपुर्ण अवस्था देखेपछि आफु निकै भावुक भएको उनले बताए । कक्षाकोठामा पढाउन गएका बेला उनी पहिलो बेन्चमा बसेको र उक्त समेमा उनको दुबै खुट्टाको यो अवस्था देखेपछि आफू आश्चर्यमा परेको समेत उनले बताए । अहिल उनको उपचारमा सहज होस भनेर धेरै व्यक्ति तथा संघ सस्थाहरुले सहयोग उपलब्ध गराएको उनले बताए । सुन्तलीको उपचारका लागि आएको सबै रकम उनकै नाममा रहेको वैँक खातामा जम्मा गरिदिएको समेत पौडेलले जानकारी दिएका छन् ।
गत असार महिनाको ८ गते सुन्तलीका बाबु नरबहादुर रुखबाट लडेर घाइते भएपछि स्थानीय सामाजिक संघ संस्था र विभिन्न व्यक्तिहरुबाट भएको आर्थिक सहयोगले उपचार भएको थियो । यसबाहेक वैदेशिक रोजगारीमा रहेका विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा मनको साथि प्रतिष्ठानले समेत उनको परिवारका लागि सहयोग गरेका थिए ।
विविध कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि चौधरी ग्रुपले नेपालमै कृत्रिम खुट्टा उत्पादन गरी निशुल्क वितरण गर्ने गरेको छ । चौधरी फाउन्डेसनले भारतको जयपुरस्थित विश्वप्रसिद्ध भगवान महावीर विकलांग समिति (जयपुर फुट) सँगको संयुक्त पहलमा कृत्रिम खुट्टा उपलब्ध गराउने गरेको छ ।
कृत्रिम खुट्टाको उत्पादन र न्यूनतम् शुल्कमा विश्व बजारमा सेवा पु¥याएर अन्तर्राष्ट्रिय ख्याती कमाएको जयपुर फुट र चौधरी फाउन्डेसनबीच नेपालमा कृत्रिम खुट्टा उत्पादन र वितरण गर्ने समझदारी २०७३ सलमा भएको हो । समझदारीअनुसार जयपुर फुटले बर्सेनि तीन सयवटा कृक्रिम खुट्टाका लागि आवश्यक पर्ने सामाग्री चौधरी फाउन्डेसनलाई उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया