बाणगंगा ९ भलवाडका एकल महिलाहरुले लिए चार दिने क्षमता विकास तालिम

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका उप प्रमूख रिता चौधरीले यहाँका महिलाहरुको हक अधिकार स्थापित गराउन नगरपालिकाले हरेक वर्ष महिला लक्षित कार्यक्रमहरु संचालन गरेको बताउनुभएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडमा सम्पन्न भएको चार दिने एकल महिला क्षमता विकास कार्यक्रम अन्र्तगत उद्घोषण तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै नगर उप प्रमूख चौधरीले यहाँका सबैखाले महिलाको नेतृत्व क्षमताको विकास गर्न वडागत बजेटबाट र नगर स्तरीय बजेटबाट समेत योजनाहरु समावेश भएको बताउनुभयो ।

यस्तै उहाँले एकल महिलाहरुले आफ्नो क्षमता विकास गर्न यस्ता तालिमबाट सिकेका विषयलाई व्यवहारमा लागु गरी समाजका नेतृत्वदायी ठाउँमा आउनपर्ने समेत सुझाव दिनुभएको छ ।
यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले वडाका एकल महिलाहरुको वक्तृत्व क्षेमताको विकास गराउने र आफ्ना विचारहरु निर्धक्क अभिव्यक्त गर्न सक्ने बनाउन क्षमता विकास शिर्षकको उक्त योजना राखिएको बताउनुभयो ।

उहाँले आफुलाई आवश्यक कार्यक्रमहरु आगामी वर्ष वडामा माग गर्न समेत वडा अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ ।
यस्तै कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समुह कपिलवस्तुका अध्यक्ष रिता देवी राईले यहाँका एकल महिलाहरुलाई संगठित गराउन वडा र नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सबै एकल महिलाहरुको पूर्ण क्षमता विकासका लागि नगर स्तरीय र जिल्ला स्तरीय आफ्नै भवनको अहिले खाँचो रहेको भन्दै त्यसका लागि बजेटको प्रबन्ध गरीदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य चुरामणी अर्याल र गिता सुनारसहित सहभागिहरुका तर्फबाट सावित्रा पाण्डे, सिता के.सी लगाएतले सम्बोधन गर्नुभएको थियो । सहभागिहरुले चार दिने तालिममा आफूहरुले उद्घोषण कला र उद्घोषक कार्यका लागि आवश्यक धेरै नयाँ कुरा जान्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको सहयोग तथा साझाकुरा मिडिया ग्रुप प्रा.लिको आयोजनामा बैशाख ७ गते देखि १० गते सम्म उक्त तालिम वडा कार्यालयको सभाहल जिनुवामा सम्पन्न भएको हो । तालिममा प्रशिक्षकहरु हरि आचार्य र पूर्णचन्द्र परियाले सहभागिहरुलाई उद्घोषक र नेतृत्व क्षमता विकासका विभिन्न विषयमा तालिम प्रदान गर्नुभएको थियो । कार्यक्रम साझा कुरा मिडिया ग्रुपका प्रबन्धक राजेन्द्र खनालको अध्यक्षता तथा प्रधान सम्पादक नबराज बेल्वासेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

खबर सबै