केही सामुदायिक वनमा लागेको डढेलो भने उपभोक्ताले नियन्त्रणमा लिएका छन् । कतिपयमा भने कोही पनि निभाउन पुगेका छैनन् । तिनाउ गाउँपालिका १, कचलका उपभोक्ता अमर बीएस मगरका अनुसार कचलका अधिकांश जंगलमा डढेलो लागेको छ । रानीढुंगा सामुदायिक वन उपभोक्ता समूहमा डढेलो लागिरहेको उनले बताए । १५ जनाको समूह बनाएर बस्ती भएकातर्फ नआउने गरी आगो नियन्त्रण गर्ने प्रयास गरेको उनले बताए ।
‘एउटा क्षेत्रमा आगो निभाउन सफल भयौं,’ उनले भने, ‘राति ९ बजेसम्ममा नियन्त्रण गरे पनि अर्को क्षेत्रमा नियन्त्रणमा लिन अझै सकिएका छैन ।’ तिनाउ गाउँपालिकाका वन अभियान्ता राजेश श्रेष्ठले गणेश सामुदायिक वनको बस्तीतर्फ आउन लागेको डढेलो नियन्त्रणमा लिए पनि अन्यत्र नसकिएको बताएका छन् । ‘दैनिकजसो डढेलो निभाउन जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘खडेरी लाग्नासाथ डढेलोले हैरानी पारेको छ ।’ दोभान खोला नजिकको भीरमा लागेको डढेलो निभाउन जान नसकेको उनले बताए ।
तिनाउ गाउँपालिकाका भूत खोला सामुदायिक वन, चिरीडाँडा, सातपत्रे, सिस्नेरी सामुदायिक वनमा एक सातायता नै डढेलो लागे पनि कसैले निभाउन गएका छैनन् । ‘तिनाउको प्रायः सबै सामुदायिक वनमा यसवर्ष डढेलो लागेको छ,’ उनले भने, ‘पर्याप्त स्रोत, साधनको अभावमा उपभोक्ताले नियन्त्रणमा लिन सक्ने अवस्था छैन । दैनिक डढेलो फैलिँदै गएको छ ।’ सिद्धबाबा धार्मिक वन, सुपारीथरी सामुदायिक वन सुकेताल, चर्चरे, कोलडाँडा, सत्यवती, लगाड क्षेत्र, लामाचौपारीलगायत सामुदायिक वनमा पनि डढेलो नियन्त्रणमा आएको छैन ।
‘सचेतना गोष्ठी, कलाकार ल्याएर जनचेतना नहुने रहेछ,’ स्थानीय दीपक थापाले भने, ‘आगो निभाउने आधुनिक ओैजार पनि व्यवस्थापन गर्नुपर्छ ।’ उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहलाई पनि यस विषयमा साक्षर बनाउन सकेका छैनन् । डढेलो निभाउन जान अप्ठ्यारा पहाड र डाँडा तथा भीर भएकाले केही सामुदायिक वनले ४/५ पटक आगो निभाउन गए पनि निभाउन नसकेको गुनासो गरेको उनले बताए ।
डिभिजन वन कार्यालयका टास्कफोर्स संयोजक तथा सहायक वन अधिकृत २८ वडा सामुदायिक वनमा जिल्लाभर डढेलो लाागिरहेको छ । ३२ वटा सामुदायिक वनमा नियन्त्रणमा आइसकेको छ । ५ सय ७६ हेक्टर जंगलमा डढेलो लागिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा ७ सय बढी सामुदायिक वन उपभोक्ता समूह छन् । ‘खडेरी पर्नासाथ डढेलो बढेको हो,’ उनले भने, ‘त्यसका लागि समन्वय गरेर निभाउने र नियन्त्रणको प्रयास गरिराखेका छौं ।’ कान्तिपुरमा समाचार छ ।



















प्रतिक्रिया