कपिलवस्तुको कृष्णनगर नाकामा भेटिए १० कोरोना संक्रमित

कपिलवस्तु । अहिले देशभर कोरोना संक्रमितहरुको संख्या दैनिक बढिरहेका बेला कपिलवस्तुमा पनि त्यसको असर देखा परेको छ । खासगरी भारतबाट नेपाल फर्किनेहरुमा सिमा क्षेत्रमा चेकजाँचका क्रममा संक्रमण पुष्टि हुने गरेको पाइएको हो ।

पछिल्लो पटक कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गरेका १० जना नागरिकमा कोरोना देखिएको छ । चैत्र अन्तिम साता ४४० जनाको कृष्णनगर नगरपालिकामा रहेको हेल्थ डेस्कमा एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो साता १ हजार ५६५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये ३९२ जनाको एन्टीजिन विधिबाट परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना देखिएको थियो ।

पोजेटिभ देखिएका ९ जनाको भेरियन्ट चेक गर्नका लागि नमुना सङ्कलन गरी केन्द्रीय प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय कपिलवस्तुका स्वास्थ्य निरीक्षक उमेशचन्द्र घिमिरेले बताएका छन् । अघिल्लो साता १ हजार ४८४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

तीमध्ये लक्षण देखिएका ४८ जनालाई एन्टीजिन परीक्षण गर्दा १ जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो । कोरोना सङ्क्रमण देखिनेमा अर्घाखाँची, प्युठान, दाङ, कपिलवस्तु, गुल्मीका छन् । नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकहरुमा कोरोना पुष्टि हुन थालेपछि यहाँ थप सतर्कता अपनाउन समेत थालिएको छ ।

प्रतिक्रिया

खबर सबै