

पशुपतिनाथमा साढे चार लाखले गरे दर्शन



रासस
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेका छन्।
आज पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।
ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरू भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले राससलाई जानकारी दिए।
बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ। पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ। घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो।
महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रुपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवदर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्ने कार्यक्रम छ। पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन्। यो मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो।
मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि दिनेछन्। बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम छ। यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ।
महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवं दर्शन गर्ने कार्यक्रम छ। यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रुपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कोषका सूचना अधिकारी पराजुलीले बताए।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ। साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। यसमा गुठी संस्थानको पनि सहयोग छ।
महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेष रूपमा सिँगारिएको छ। दर्शनार्थीलाई व्यवस्थित रुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा छ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया