

घरेलु मैदानकाे भरपुर सदुपयाेग गर्छाैँ : कप्तान पाैडेल



काठमाण्डाै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्यान्ड र आयोजक नेपालबीच हुने त्रिदेशीय शृङ्खलामा सुखद नतिजा निकाल्नका लागि टोली तयार रहेको बताएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियाेगिता सुरु हुनुअघि आयाेजना गरेकाे पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद नतिजा निकाल्न टोली तयार भएको बताएका हुन् । एक हप्ताअघि मात्र औपचारिकरूपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आफूले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भए पनि घुलमिल सहजै भएको राेहितकाे भनाइ छ । घरेलु मैदानमा हुने शृङ्खला निकै महत्त्वपूर्ण रहेको भन्दै घरेलु मैदानको भरपुर सदुपयोग गर्ने उनले बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको अभ्यास निकै फलदायी भएको र १० दिनको अवधिमा आफूले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताए । प्रशिक्षणको क्रममा आफूले नेपाली खेलाडीमा धेरै क्षमता देखेको र खेलाडीले त्याे क्षमतालाई खेलमा देखाउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
देशाईले भाेलि मङ्गलवारदेखि आयोजना हुने शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने शृङ्खलामा सहभागी हुन स्कटल्यान्ड र नामिबिया पनि नेपाली आइसकेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा स्कटल्यान्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने बताए ।
यस्तै स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रतिस्पर्धा गर्न कठिन हुने बताए । आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने उनकाे भनाइ छ ।
नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले लिगमा आफ्नो टोलीको छ वटा खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो टोली शीर्ष चारमा अटाइसकेको र आफ्नो लक्ष्य दोस्रोमा पुग्ने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने याेजना रहेको बताए ।
शृङ्खलाअन्तर्गत स्कटल्यान्डले विश्व कप लिग–२ मा अन्तिम चार खेल नेपालमा खेल्दैछ । स्कटल्यान्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्व कप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ । शृङ्खलामा नेपाल २४ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ ।
नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित शृङ्खला भाेलि मङ्गलवारदेखि फागुन ९ गतेसम्म हुनेछ । शृङ्खलाकाे पहिलो खेलमा नेपालले नामिबियासँग भाेलि खेल्नछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग शुक्रवार खेल्नेछ । नेपालले शनिवार नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्यान्डसँग फागुन ९ गते पुनः खेल्नेछ ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया