कपिलवस्तुका अधिकारी मन्त्री बन्ने कुरा चर्चामै सिमित

कपिलवस्तु । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारको मन्त्रिमण्डललाई बिस्तार गरेका छन् ।

सोमबार साँझ सत्ता साझेदार दलहरुका बिचमा मन्त्रालय बाँडफाँडका बिषयमा सहमति बन्यो र दलहरु आन्तरिक गृहकार्यमा जुटे । यसैबेला कपिलवस्तुमा चर्चा भयो नेकपा एमालेका नेता तथा कपिलवस्तु १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद बलराम अधिकारी मन्त्री बन्ने । नेकपा एमालेका जिल्ला तहका नेताहरुले सामाजिक सञ्जालबाटै हतार गर्दै अधिकारी मन्त्री बन्ने पक्का पक्की भएको भन्दै बधाइ र शुभकामना पनि साट्न भ्याए । अन्ततः मंगलबार नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले अधिकारीको नाम मन्त्री बनाउने लिष्टमा समावेश नगरेपछि भने अधिकारी मन्त्री बन्न पाएनन् ।

नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयको अन्तिममा केही हेरफेरसँगै चार जना मन्त्रीको नाम चयन गरेको छ । मन्त्रालयको हेरफेरसँगै यसअघि मन्त्री बनाइने भनिएका कपिलवस्तुका बलराम अधिकारीको नाम अन्तिममा काटिएको छ । अध्यक्ष केपी शर्मा अ‍ोलीको निवास बालकोटमा भएको शीर्ष नेताको छलफलपछि परराष्ट्र मन्त्रालयमा डा। विमला राई पौडेल र स्वास्थ्य मन्त्रीमा पदम गिरीलाई पठाइएको छ ।

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् । यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्रीमा नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छिन् । रास्वपा अध्यक्ष रवि लामिछाने यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका थिए ।

नयाँ थपिएको मन्त्रीमण्डलमा कपिलवस्तुका बलराम अधिकारीको चर्चा भएपनि अन्तिम समयमा नाम काटिन पुगेको विषयमा एमालेले कपिलवस्तुमाथि उपेक्षा गरेको तर्क सुरु भएको छ ।

प्रतिक्रिया

खबर सबै