तीन दशकदेखि बन्द रहेको औजार कारखाना पुनः सञ्चालनको तयारीमा

पर्सा

 विगत ३ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

कुशल व्यवस्थापनको अभावका कारण बन्द भई खण्डहरमा परिणत भएको कारखानालाई पुनर्जीवित गर्न अर्थ मन्त्रालयले कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्र आविष्कार केन्द्रलाई दिएपछि यतिबेला कारखानामा सरसफाइ तथा चेकजाँच गर्ने कार्यले तीव्रता पाएको छ । 

नेपालको एकमात्र कृषि औजार उत्पादन गर्ने कारखानाको रुपमा रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने कार्य भइरहेको छ । लामो समयदेखि बन्दको कारण धुलो र माकुराको जालो मात्र भेटिने कारखानाको स्वरूप परिवर्तन गर्ने तयारी हुँदैछ ।

आत्मनिर्भर बन्ने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमा रुग्ण उद्योगलाई पुन सञ्चालनमा ल्याउने कुरा उल्लेख गरिएको थियो । गत भाद्र ३१ गते मन्त्रिपरिषद्को बैठकले कृषि औजार कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गर्यो । सोही निर्णय अनुसार गत असोज ११ गते अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

तत्कालीन सोभियत संघको आर्थिक तथा प्राविधिक सहयोगबाट सञ्चालनमा आएको उक्त कारखानाको उद्घाटन पूर्व राजा स्व. श्री महेन्द्र वीर विक्रम शाहले वि.स. २०२४ साल फाल्गुण २८ गते गरेका थिए । यस कारखानाबाट कृषि क्षेत्रमा आवश्यक पर्ने सबै प्रकारका औजारको उत्पादन हुने गर्थ्याे ।

रसिया, जापान, श्रीलंका तथा भारतबाट कच्चा पदार्थ आयात गरी यहाँबाट उत्पादन हुने कृषिका औजार देशका कुनाकाप्चामा बिक्री हुनुका साथै छिमेकी मुलुक भारतमा समेत निर्यात हुने गर्दथ्यो । यसरी सिंगो मुलुकको कृषि क्षेत्रमा योगदान पुर्याउँदै आएको कारखाना लामो समयदेखि बन्द हुँदा कृषकहरू खेतीपाती गर्ने औजारहरू खर्बौ रुपैयाँ खर्चेर आयात गर्नुपर्ने अवस्था छ । 

यतिबेला राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन कारखाना सञ्चालनका लागि अध्ययन र सरसफाइमा व्यस्त छन । विगत ४ दिनदेखि पुन सहितको टोली वीरगञ्जकाे कृषि औजार कारखानाको मेसिन चेकजाँचमा व्यस्त छन् ।

चेकजाँचको क्रममा करिब ५० प्रतिशत मेसिन मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् । उनले पुराना मेसिनसँगै अत्याधुनिक मेसिनहरू पनि आवश्यक रहेको हुँदा वीरगञ्जस्थित कृषि औजार कारखाना पुन सञ्चालनमा ल्याउन ३० देखि ४० करोड रुपैया लाग्ने आफूहरूको अनुमान रहेको बताउछन् । 

कारखाना सञ्चालनमा ल्याउने जिम्मेवारी पाएपछि आफूहरू पछि नहट्ने अध्यक्ष पुन बताउछन् । आगामी दिनमा सरकारले साथ नदिएपनि यसको सञ्चालनको लागि निरन्तर लाग्ने उनले बताए ।

नेपाललाई कृषि प्रधान देशको रूपमा चिनिन्छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उदेश्य सहित स्थापना गरिएको कृषि औजार कारखाना सञ्चालनमा रहदा वार्षिक १३ करोड रुपैया सम्म आम्दानीमा थियो ।

करोडौं आम्दानी गर्दै आइरहेको कारखानाको उत्पादकत्व बढाउन र नाफा कमाउने भन्दै तत्कालिन सरकारले २०५९ सालमा निजीकरण गर्दै रेशमलाल वैध नामक निजी क्षेत्रलाई  ६५ प्रतिशतको शेयर बिक्री गरेको थियो । तर बैद्यले कारखानालाई घाटामा पु¥याई फरार भएपछि नेपाल सरकारले पुन आफÞनो स्वामित्वमा लिएको कृषि औजार कारखानाका सुरक्षा ईन्चार्ज मनोहर गौतम बताउछन् ।

नेपाल सरकारले यसभन्दा अगाडी पनि पटक पटक कृषि औजार कारखानमा टोली नै खटाएर निरीक्षण तथा अवलोकन गरी प्रतिवेदन बुझाउने कुरो कुनै नौलो हैन । सरकार कारखाना सञ्चालनको प्रतिबद्धता गरेर टोली खटाउने, टोलीले प्रतिवेदन बुझाउनेमै सिमित हुदै आएको कारण कृषि औजार कारखाना आजसम्म संचालनमा आउन नसकेको हो । तर यसपटक राष्ट्रिय आविष्कार केन्द्रले जिम्मा पाए पछि भने अब चाही कृषि औजार कारखाना सञ्चालनमा आउनेमा वीरगञ्जबासी आशावादी छन् ।

प्रतिक्रिया

खबर सबै