

वृजेशलाई २३ बर्षदेखि गिज्याइरहेको एउटा काठेपुल





कपिलवस्तु
पाँचौ पटक सांसद बन्ने तयारी साथ नव प्रवेशी एमाले नेता वृजेश कुमार गुप्ता निर्वाचनमा होमिएका छन् । मंसिर ४ को निर्वाचनमा जनता बिच जान उनीसंग विकास गर्ने परम्परागत ऐजेण्डा बाहेक अरु केहि छैन । २३ बर्ष देखि निरन्तर सांसद बनेका उनका प्रतिबद्धता मध्ये कति पुरा भए कति भएनन् त्यो जनताले मंसिर ४ को निर्वाचन अगावै मूल्यांकन गर्ला । तर २०५६ सालको संसदीय निर्वाचन देखि उनको एउटा प्रतिबद्धताले भने गुप्तालाई सधै गिज्याइरहेको छ । गुप्ता पहिलो पटक २०५६ सालमा राप्रपाबाट संसदीय क्षेत्र नम्बर २ को उम्मेद्धवार बन्दा त्यहाका जनताले तत्कालिन गौरी गाविस तथा बसन्तपुर गाविस बिचमा रहेको जमुवार खोलामा पुलको माग गरेका थिए । उनले त्यतिबेला जितेको १ बर्षमा बजेट ल्याएर बनाउछु भनेर प्रतिबद्धता जाहेर गरेको स्थानीय अनारुल्लाह मुसलमान बताउछन् । कांग्रेस नेता दीपकुमार उपाध्यायलाई हराउदै गुप्ताले निर्वाचन जिते । पुल बनेन ।माओवादी जनयुद्ध मधेशमा चर्किदै गएको थियो । त्यसबेला त्यस क्षेत्रका जनताले माओवादी संग उक्त पुल बनाउन सहयोग मागे ।
तत्कालिन माओवादी ईलाका इन्चार्ज जनी बन्जाडे (छाया) सत्यनारायण तिवारी, प्रेम परियार लगायतले शशस्त्र द्धन्द्धका बिच जंगलबाट काठ झिकाई २०५९ सालमा समुदायकै सहयोगमा काठेपुल निर्माण गरेका थिए । जुन अहिले सम्म चलिरहेको छ ।त्यहि बेला २०६० सालमा राजा ज्ञानेन्द्रको नेतृत्वको शाहि सरकारमा गुप्ता भौतिक पूर्वाधार राज्यमन्त्री बनेका थिए । १ बर्ष सम्म भौतिक पूर्वाधार मन्त्री बनेका गुप्तालाई त्यस भेगका जनताले पटक–पटक पक्की पुल बनाउन माग गरेपनि उनले त्यसमा चासो दिएनन् । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन चर्किएर ज्ञानेन्द्र सत्ता च्यूत भएपछि गुप्ता मधेशवादी दलमा पसे । महन्त ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी बाट उनी २०६४ सालको संविधान सभा निर्वाचनमा उठे । पुनः जनताको बिचमा जाँदा यसपटक जसरी पनि पक्की पुल बनाइदिने आश्वासन दिए । चुनाव जिते । उनका निटकतम मित्र कपिलवस्तुकै ईश्वरदयाल मिश्रा भौतिक राज्यमन्त्री बने । उनले चाहे त्यहा पुल बन्थ्यो तर वास्तै गरेनन् । प्रत्येक बर्ष उनले पाउने ५ करोडको संसदीय विकास कोषबाट पनि उनले त्यहा लगानी गर्न चाहेनन् । पुनः २०७० सालमा दोश्रो संविधानसभा निर्वाचनको घोषणा भयो । तमलोपाबाट गुप्ता पुनः सोहि क्षेत्रमा सांसदको उम्मेद्धवार बने ।
गाउँलेले पुनः त्यहि पुल पक्की बनाउन माग राखे । आक्रोश पोखे र यसपटक जसरी पनि बनाउने बाँचा गरे । पुनः गुप्ता निर्वाचित भए । २०७१ सालमा कानून मन्त्री बनेका गुप्तालाई उक्त योजना संघीय बजेटमा राख्नु कुनै ठूलो विषय थिएन । संसदीय निर्वाचन बजेटबाट पनि विनियोजन गर्न सक्थे तर गरेनन् ।संविधान निर्माण पछि मधेशवादी दल विषेशगरि तमलोपा निकै कमजोर बन्यो । ५ वटा निर्वाचन क्षेत्र रहेका कपिलवस्तुमा जम्मा ३ वटा क्षेत्र कायम गरियो । वृजेशका लागि उत्तर नयाँ क्षेत्र र दक्षिणमा असन्तुष्ट जनताको कारण उनले अन्तिममा एमालेको चुनाव चिन्ह लिएर उठे । जनताको बिच फेरी घरदैलो गर्दा स्थानीय पालिका बनेका यशोधराको वडा नं. २ र ३ का जनताले पुनः प्रश्न गरे २० बर्ष देखिको प्रतिबद्धता खोइ ? सोझा जनतालाई गुप्ताले अनेकन समस्या र आश्वासन दिएर फकाएको स्थानीय नेता हजरत अलि ले भने । २०७४ सालको निर्वाचनमा चौथो पटक संसद पुगेका गुप्ताले पुनः त्यस भेगका जनताको मागलाई वेवास्ता गरे । उक्त एजेण्डा छाडे । अहिले उनी एमाले प्रवेश गरि पुनः सोहि क्षेत्रबाटउम्मेद्धवार छन् ।
जनताको बिच जाँदा सडकबाटै देखिने त्यो जीर्ण काठेपुलले वृृजेशलाई गिज्याईरहेको छ र त्यहाका जनतालाई नेताको वास्तविकता देखाइरहेको छ । तत्कालिन अवस्थामा यशोधरा गाउपालिकाले त्यसमा पक्की कजवे वनाउन खोज्दा गुप्ताले तत्कालिन अर्थ मन्त्री विष्णु पौडेल संग कुरा भइसकेको छ, त्यहा बजेट हाल्न पर्दैन भनेर रोकेको कारण आफुले समेत बनाउन नपाएको तत्कालिन गाउँपालिका अध्यक्ष गिरिजेश पाण्डेले बताए । उक्त पालिका गुप्ताकै पार्टीले जितेको छ तर यो आ.ब.मा त्यो काठेपुलको ठाउँमा पक्की पुल बनाउने कुनै बजेट विनियोजन भने भएको छैन ।माओवादीले जनयुद्धकालमा बनाएको त्यहि काठेपुलबाट अहिले सम्म जनताले सेवा लिइरहेपनि चारपांग्रे सवारी, दमकल, एम्बुलेन्स आवत जावत नहुदा त्यस भेगका ७ वटा गाउँलाई सदरमुकामको छोटो मार्ग जोड्न समस्या परिरहेको छ । उक्त पुलले मायादेवी र यशोधरा गाउँपालिकालाई जोड्छ । गुप्ताले ४ पटक सम्म पार्टी फेर्दै ४ पटक सम्म सांसद र २ पटक मन्त्री खाएपनि जनतालाई भने कहिल्यै हेरेनन् र टेरेनन् भन्ने सानो उदाहरण हो यो काठेपुल । यस्ता सयौ योजना थिए जसलाई जनताका प्रतिनिधि बनेर गएका गुप्ताले सम्बोधन नगर्दा आज जिल्ला सदरमुकाम सहितको यो क्षेत्र पछाडी पर्दै गएको स्थानीयबासीहरुको आरोप छ ।


खबर सबै
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन











प्रतिक्रिया