आज कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन

काठमाण्डौ – तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराईले नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउनुभयो ।कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।यस्तै आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ ।

लक्ष्मी पूजा पनि आजै
यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ ।घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।लक्ष्मी पूजाका लागि आज बेलुका चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो बनाउने गरिन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । आज बेलुका भैलो समेत खेल्ने गरिन्छ ।

प्रतिक्रिया

खबर सबै