कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना, अधिकृत पनि तोकिए

कपिलवस्तु । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनका लागि कपिलवस्तुका तीन वटै निर्वाचन क्षेत्रमा निर्वचन गतिविधि सक्रिय बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना सँगै अधिकृतहरु पनि तोकिएका छन् ।
कपिलवस्तुमा तीन वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका क्षेत्र नम्बर २ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

त्यस्तै क्षेत्र नम्बर १ का लागि वाणगंगा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय गजेहडा र क्षेत्र नम्बर ३ को लागि शिवराज नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृत शिवप्रसाद पराजुली र क्षेत्र नम्बर ३ का लागि प्रकाश मरासिनीलाई तोकिएको छ।

कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि सुरु भएको मुख्य निर्वाचन अधिकृत सूर्यनाथ प्रकाश अधिकारीले बताउनुभयो। उहाँले २३ गते मनोनयन दर्ता, २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते नामावली प्रकाशन गर्ने, २६ गते नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरणको कार्यक्रम रहेको पनि जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइसकेको बताउनुभयो। मनोनय दर्ता गर्दा सुरक्षा निकायसँग समन्वय गर्न उहाँले दलहरुलाई आग्रह गर्नुभएको छ।

निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ जना मतदाता रहेका छन्। जसमध्ये दुई लाख दुई हजार १२५ पुरुष र १ लाख ७६ हजार १ सय ५ महिला रहेका छन् भने दुई अन्य मतदाता रहेका छन्। जिल्लामा २ सय ३४ मतदानस्थल र चार सय ७२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी रामजी पन्थीले बताउनुभयो।

प्रतिक्रिया

खबर सबै