

पञ्चायत देखि गणतन्त्र सम्मको एउटै माग, भलवाडबासीले पाएनन् कोइलीमा पुल





कपिलवस्तु/रासस । जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडवासीलाई एउटै कुराले पिरोल्छ कोइलीखोला कसरी तर्ने । दशकौँदेखि पक्की पुल माग गर्दै आएका भलवाडवासीका लागि उक्त खोला प्रत्येक वर्ष कालजस्तै बन्दै आएको छ ।
गएको साउन महिनामा एक दम्पतीलाई बिहानीपख जङ्गलबाट घर फर्कने क्रममा दिलबहादुर सुनार र राममाया सुनारलाई कोइलीखोलाले बगाउँदा उनीहरुको मृत्यु भयो । यति मात्र होइन, दुई वर्ष अगाडि विद्युत् प्राधिकरण गजेहडा वितरण केन्द्रको गाडी पनि बगायो । असोजको पहिलो हप्ता आएको बाढीले बगाउँदा तत्कालीन वितरण केन्द्रका प्रमुख कृष्ण पौडेलसहित तीन जनाको मृत्यु भयो भने तीन जना पौडिएर बाँच्न सफल भएका थिए । यी त ठूला दुर्घटना मात्र हुन् । हरेक वर्ष कोइलीखोलाले मानवीय तथा भौतिक क्षति गर्दै आएको छ ।
बाणगङ्गा नगरपालिका–९ मा पर्ने यो साविकको भलवाड गाविस हो । वरिपरिबाट खोलाले घेरेको यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्क विच्छेदजस्तै हुन्छ । पहाडबाट आउने उर्लँदो बाढी तरेर बर्खामा आवातजावत गर्नसक्ने सामर्थ्य वडावासीसँग छैन । खोला तर्नुको अर्को विकल्प पनि उनीहरुलाई छैन ।
अर्घाखाँचीसँग सीमा जोडिएको भलवाडवासी नुनदेखि सुनसम्मका लागि कोइलीखोला तरेरै जानुपर्छ । “कोही बिरामी भए भने तुरुन्त खोला तर्नुको विकल्पै छैन”, भलवाडका दीपक थापा भन्छन्, “घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीलाई पनि खोला तरेरै ड्युटी जानुको विकल्प छैन ।”
विसं २०३९ देखि भलवाडवासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेदवार जिताउने पहुँच राख्छ तर जितेका उम्मेदवारले यहाँको समस्या बुझ्न सकेका छैनन् । “हरेक चुनावमा भलवाडवासीको एउटै माग हुन्छ, पुल चाहियो तर काम गरिदिने कोही भएनन”, भलवाडका लक्ष्मी बेल्वासेले भने।
पञ्चायतदेखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडवासीले एउटा पुल पनि पाएनन् । साविकको भलवाड गाविसका पूर्वअध्यक्ष कुमार मधु बेल्वासे विसं २०३९ मा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्छन्। “पञ्चायतकालदेखि पुल माग्दै आए पनि गणतन्त्रले सम्म पनि सुनेन”, उनी भन्छन् ।
विसं २०५४ मा आफू वडाध्यक्ष भएपछि कजवेमात्र बनाउन सकेको बेल्वासेको भनाइ छ । विसं २०७४ मा निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थी कोइलीखोलामा पुल बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउछन् । आर्थिक वर्ष २०७६–७७ मा प्रदेश सरकारले बनगाई, मोतीपुर, भलवाड–डोहोटे सडक खण्ड बनाउन लागेको र यसैमा जग्गा विवादका कारण काम रोखिएको उनको भनाइ छ ।
भलवाड सामान्य गाउँ होइन, सिङ्गो जिल्लाको उत्तरी भेगको वडा हो । पहाडबाट बसाइँ सरी आउनेको गन्तव्य भलवाड हुने गरेको छ । कृषिको उर्वर भूमि, नजिकै जङ्गलको सुविधा, अर्घाखाँचीसँग सीमा जोडिँदा र हावापानी पनि राम्रो हुनाले सबैको रोजाइ भलवाड हुने गरेको छ । विगतमा थारू समुदायको बाहुल्यता हुने गरे पनि आजभोलि पहाडिया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया