विद्यालयका सुझाव पेटिकाले बाल बालिकाहरुलाई दुव्र्यवहारबाट जोगाउँदै

सुशील गैरे / कपिलवस्तु

कक्षा ९ मा अध्यान गर्ने कमला (नाम परिवर्तन गरिएकी एक १५ वर्षीय बालिका) पहिलो पिरियड पढेर विद्यालयबाट बाहिरिन् । उनि विद्यालयबाट एक किलोमिटर टाढा परालको टौवामा एक युवकलाई भेटन् पुगिन । मामा घर आएका एक भारतीय युवक बालिकालाई एकान्तमा पर्खेर बसेका थिए । ती भारतीय युवाले बालिकालाई विभिन्न प्रलोभन देखाउँदै दुई साता देखि प्रेमजाल बुन्दै गलत दृष्टि राखेका रहेछन् । कमला माथि भएको गतिविधि देखेकी साथीले कमला माथि भएको त्यस्तो कार्यको सूचना विद्यालयमा रहेको सुझाव पेटिका मार्फत गुनासो गरिन ।

विद्यालयको लैङ्गिक सम्पर्क शिक्षक (फोकल शिक्षक) र प्र.अ.को पहलमा सुझाव पेटिकामा राखिएको गुनासोलाई उच्च महत्व दिएर विद्यालयले तुरुन्त सम्बोधनको प्रक्रियामा गए पछि कमला भारतीय युवकको चङ्गुलबाट मुक्त भइन् । बालबालिका जोखिममा पर्न लागेको जानकारी पाए पछि अभिभावकको सहयोग लिई संरक्षण गराएको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको एक विद्यालयले जनाएको छ ।

कमला मात्र होइन विद्यालयमा सुझाव पेटिका राख्न लागे पछि कपिलवस्तुका बालिकाहरु विभिन्न प्रकारका दुव्र्यवहार तथा हिंसाका घटनाबाट जोगिन थालेका छन् ।
‘ सरले कक्षामा केटीलाई जिस्काउनु हुन्छ । केटीको ढाडमा मुसारेर पिट्नु हुन्छ । ’ एक शिक्षकले छात्राहरु प्रति गरेको दुव्र्यवहारको घटना विद्यार्थीहरुले सुझाव पेटिका मार्फत प्र.अ. सँग पुराएका थिए । विद्यालयले शिक्षकलाई घटनाको विषयमा सोधपुछ गरे पछि शिक्षकले गलत व्यवहार गर्न छाडेका थिए ।
जिल्लाको एक विद्यालयमा रहेको गुनासो अभिलेख पुस्तिका अनुसार ‘ ए र वि (बालिकाहरु) विद्यालय बाहिर गएर केटाहरुलाई भेट्ने गर्छन्, सिसिटिभी क्यामरा खोलेर हेर्न सकिन्छ ।’ त्यस्तै अर्को अभिलेख ‘कक्षा १० (ए)का सी(छात्रा) र डी(छात्र) माथि हलमा नराम्रो क्रियाकलाप गर्छन, अरु विद्यार्थी जाँदा डि ( छात्रा) ले बाटो छेकेको कुरा र ढोका बन्द गरी बसेकाले अन्य विद्यार्थीलाई समेत नराम्रो असर प¥यो ।’ भन्ने उजुरी गरेका थिए । गुनासो आए पछि सम्बन्धित विद्यार्थी, अभिभावक र गुनासो सुनुवाइ समिति मिलेर छलफल गरेका थिए । छलफल पछि बालबालिकाहरुले त्यस्ता क्रियाकलाप बन्द गरेको अभिलेख देखिन्छ ।

शुद्धोधन गाउँपालिकाको पूर्ण केशरी मा.वि. बग्दीमा सुझाव पेटिका प्रयोग पछि विद्यार्थीहरुका समस्या समाधान गर्न सहज भएको प्र.अ. लीला खनालले बताइन । नियमित रुपमा खोल्न लागे पछि बालबालिकाहरुले उजुरी राख्न सुरु गरेका थिए । आएका सुझावहरु कार्यान्वयनमा लाने र प्रार्थना समयमा बालबालिका सँग सुझावको विषयमा जानकारी गराए बालबालिकाहरु गुनासो कार्यान्वयन हुनेमा विश्वस्त देखिएको प्र.अ. खनालले दाबी गरिन। बालबालिकाको गुनासो गोपनीयताका साथ सुनुवाइ भएको कारणले निर्धक्क भएर मौखिक र लिखित (उजुरी पेटिकामा) रुपमा गुनासो आउने गरेको छ ।

सामान्य समस्या तत्काल र जटिल प्रकृतिका समस्यालाई सम्वन्धित विद्यार्थी, उनका अभिभावक, गुनासो सुनुवाई समिति राखेर समाधान गरेको गुनासो सुनुवाई फोकल शिक्षक शान्ता अर्यालले बताइन । समयमै गुनासोको सुनुवाइ गर्दा हिंसाको जोखिमबाट मुक्त भएकी विद्यालयको पूर्व छात्राले अझै पनि स्मरण गर्दै धन्यवाद दिने गरेको अर्यालले बताइन ।
शुद्धोधन गाउँपालिका मा.वि. ठुलो नन्दनका गुनासो फोकल शिक्षक सुनिता अर्यालले सुझाव पेटिकामा गुनासो आएको कारणले पढाई छाडेका बालिकाहरुलाई विद्यालयमा भर्ना गराउन सफल भएको बताइन । यता शिवराज नगरपालिका वडा नं. ९ बानियाभारका प्र अ विक्रम केसीले २०६७ सालमा अन्य कार्यालयको देखासिकी गर्दै गुनासो पेटिका राखेको बताए । विद्यालयमा गुनासो पेटिका राखिए पनि २०७७ सालमा मात्र गुनासो सुनुवाई कसरी गर्ने भन्ने तरिका थाहा पाएको बताउछन ।

युनिसेफ नेपाल र एजुकेशन पेजेजको सहयोगमा विद्यालयमा गुनासो सुनुवाइ कार्यविधि बारे प्रशिक्षण गरिएको थियो । एजुकेशन पेजेजले जिल्लाको शुद्धोधन गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाका प्र.अ. र फोकल शिक्षकलाई गुनासो सुनुवाइ कार्यविधिको विषयमा प्रशिक्षण गरेको थियो । प्रशिक्षण पछि उजुरी व्यवस्थापन, अभिलेखीकरण, गोपनीयता राख्ने विषयमा जानकारी भएको प्र.अ. केसीले भने ।

गुनासो सुनुवाइ समितिमा बाल क्लबको प्रतिनिधित्व गराए पछि बालबालिकाहरुले भोगेका समस्या उजुरी पेटिकामा हाल्ने गरेको प्रअ केसीले बताए। विद्यालयमा अहिले २ स्थानमा गुनासो पेटिका राखिएको छ । त्यो मध्ये एउटा सुझाव पेटिका बालबालिकाको पायक पर्ने ठाउँमा राखिएको छ । ‘गुनासो पेटिका राख्दा कार्यालय अगाडी राख्न नहुने र कर्मचारीको नजर पर्ने ठाउँमा राख्न नहुने रैछ । शिक्षक एक्लैले खोल्न नहुने रैछ । हरेक साता खोल्नु पर्ने र गोपनीयता कायम गर्नु पर्ने रहेछ । तालिम पछि मात्र थाहा भयो ’ प्र.अ. केसीले बताउछन ।
‘शिक्षकलाई सिधै भन्न नसकिने, पढाई नभएका, शिक्षकले गरेका कमीकमजोरी गुनासो पेटिकामा हाल्न लागे पछि शिक्षकको व्यवहार समेत परिवर्तन भएको छ । ’ सरस्वती मा.वि. सुन्दर बाल समूहका कोषाध्यक्ष रोजिना केसीले बताइन । गुनासो सुनुवाई समितिमा बाल समुह मार्फत बालबालिकाको सहभागिता भएकोले हाम्रा समस्या सुनुवाई भएको कक्षा ९ मा अध्ययनरत सचिव कुमार आलेले बताए । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार गरेको कार्यविधि अनुसार पालिकाहरुले आफ्ना विद्यालयमा कार्यान्वयनमा ल्याउँदा बालबालिकाहरु लाभान्वित हुन थालेको र विद्यालयले सुरक्षित रुपमा गुणस्तरीय शिक्षा पाउने बालबलिकाको अधिकारमा सघाउ पुगेको एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लब राज ओलीले बताए ।

प्रतिक्रिया

खबर सबै