बाणगंगामा सडक कालोपत्रे – काम नसकिदै भत्कियो

भलवाड । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भलवाडमा अहिले अघि अघि सडक कालोपत्रेको काम भइरहेको छ भने पछि पछि बनेको सडक भत्किदै गएको छ । सडकमा गरिएको कालोपत्रे नै उप्किएको  छ ।

सडक बोर्ड र बाणगंगा नगरपालिकाको लागतमा वडा नम्बर ९ मा करिब १ हजार मिटर बढी सडकमा कालोपत्रेको काम भइरहेको हो । सप्तऋषि निर्माण सेवा तौलिहवाले निर्माण गरिरहेको यो सडकमा ठेकेदार कम्पनीले कमसल सामग्री र गुणस्तरमा कमजोरी गरेका कारण सडकको कालेपत्रे एक हप्ता पनि टिकेन । जसका कारण निर्माण कम्पनीले हाल पुनः कालोपत्रे माथि कालोपत्रेको काम थालेको छ ।

सडक अयोजना हेरीरहेका बाणगंगा नगरपालिकाका पुर्वाधार विकास शाखाका इन्जिनियर अनिल खनालले आफुले सडक हेरेर कम्पनीलाई पुन सुधार गर्न निर्देशन दिएको बताएका छन् । उनले सडकको गुणस्तरमाथि गुनासो आएपछि सम्बन्धित निर्माण कम्पनीका ठेकेदार र स्थानीय जनप्रतिनिधिहरुलाई सँगै राखेर गुणस्तरमा ख्याल गर्न आग्रह गरेको पनि बताए ।

उता वडा अध्यक्ष कमल पौडेलले निर्माण स्थालमा केही समय आफै बसेर काम गराएको भए पनि अधिकाशं स्थानमा लापरवाही गरेको पाइएकाले सुधार गर्न आग्रह गरेको बताए ।

यस्तै सडक कालोपत्रेको काममा खटिएका एक कामदारका अनुसार अलकत्र राम्रो सँग नपाकेका कारण यस्तो देखिएको बताउँछन् । हतारमा काम सक्ने निर्माण व्यवसायीको बानीका कारण यसरी बन्ने कालोपत्रे सडक क्षणभरमै ध्वस्त हुने गरेका छन् । नियमनकारी निकायले समेत निर्माण कम्पनीलाई छुट दिने बानीका कारण पनि बाणगंगामा सडक पुर्वाधार गुणस्तरीय नभएको धेरैको गुनासो छ ।

पुरानो कालोपत्रेमा क्षती पुगेको स्थानमा कालोपत्रेका लागि सडक बोर्डले नगरपालिकासँगको समन्वयमा सडक स्तरोन्नतीको काम गरेको हो । तर सडक भने बनेर नसकिदै पुरानै स्थितिमा पुगेको छ ।

प्रतिक्रिया