प्यूठानमा जिप दुर्घटना अपडेट : एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

नौबहिनी गाउँपालिका–६ मा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका वडा नं–५ डामृका रेमसरा बुढामगरका दुई छोरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै सवारी चालक २५ वर्षीय लुकेश थापाको उपचारकै क्रममा बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिलकुमार थापाले जानकारी दिए ।
उनको सोमबार बिहान मृत्यु भएको हो । उनका अनुसार ४ वर्षीया करुणा बुढामगर र २५ दिनकी छोरी चेतना बुढामगरको मृत्यु भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । घाइते ऐरावती गाउँपालिका वडा नं–५ खवाङका २८ वर्षीय गोविद केसी, नौबहिनी गाउँपालिका २ लिघाका २६ वर्षीय लक्ष्मी घर्तिमगर, सोही ठाउँका ५२ वर्षीय मिनराज सुनार, ३० वर्षीय दलबहादुर खत्री, नौबहिनी १ का २६ वर्षीय इन्द्रबहादुर बुढामगरको उपचार भइरहेको छ ।

त्यसैगरी नौबहिनी ५ का २३ वर्षीय रविन घर्तिमगर, १८ वर्षीय धनमाला थापामगर, ११ वर्षीय रोशन थापा मगर, २८ वर्षीय हुमबहादुर बुढामगर, २८ वर्षीय मिनराज राना क्षेत्री, ६० वर्षीया दिलसरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रियाशा थापा, २५ वर्षीया रेमसरा बुढामगर र रोल्पा लुंग्री गाउँपालिका १ का १२ वर्षीया अस्मिता पुन दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया