

नागरिकताको अपमानजनक नाम सच्याउन निवेदन दर्ता



दैलेख । नागरिकतामा भएको अपमानजनक नाम सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा आज मङ्गलवार निवेदन दर्ता भएको छ । नागरिकतामा भएको ‘कुकुर कामी’ नामले अपमान भएकोले कविराम कायम गरी नागरिकता पाऊँ भन्दै भगवतीमाई गाउँपालिका ३ मेहेलतोलीका कविराम कामीले निवेदन दर्ता गराउनुभएको हो ।
नाम कविराम हो भन्दा भन्दै त्यस बेला गाउँका केही व्यक्तिले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखिएको र यसले आफूलाई अपमान बोध भएको निवेदनमा उल्लेख गरिएको छ ।
‘त्यस बेलाको शोषण दमनकारी शैलीबाट नागरिकतामै अपमान बोधक नाम लेखिएको कुरा आमसञ्चारमाध्यममा चर्चाको विषय बनेपछि गृह मन्त्रालयले सोमवार मात्रै पहिले वितरित नागरिकतामा त्यस्ता अपमान बोध गराउने नामहरू सच्याउन गरेको परिपत्रको आधारमा मैले सिफारिस गरेको हुँ’, भगवतीमाई गाउँपालिका ३ का अध्यक्ष मानबहादुर खड्काले बताउनुभयो ।
कविरामको निवेदन पेस भएलगतै गृह मन्त्रालयमा परामर्श गरेको र मन्त्रालयको परिपत्रले विधि, प्रक्रिया पूरा गरी नागरिकताको नाम सच्याउन भनेकोले छिटै कविराम कामी कायम गरी नागरिकता दिइने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
कविरामको नागरिकतामा ‘कुकुर कामी’ नाम लेखिएको विषय सुरुमा उज्यालो अनलाइनमा प्रकाशित भएपछि अरू सञ्चारमाध्यममा पनि यस्तै विषयका समाचार सार्वजनिक भएका थिए । यस विषयमा सांसदहरूले आवाज उठाएका थिए र सामाजिक सञ्जालमा पनि बहसको विषय बनेपछि गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजनक नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
नाम सच्याउन परिपत्र गरिसकेपछि पनि ती व्यक्तिका मतदाता नामावली, जग्गाधनी पुर्जा, राहदानीसमेत बदल्नुपर्ने, नाम सच्याइने व्यक्तिका श्रीमान्–श्रीमती, छोराछोरी, नातिनातिना समेतको कागजपत्र संशोधन गर्नुपर्ने भएकोले ती व्यक्तिले आफूलाई अपमान लागेको नाम संशोधनका लागि निवेदन दिने र प्रशासनले सच्याउनेबारे छुट्टै निर्देशिका पठाउन लागिएको गृह मन्त्रालयका नीति, योजना तथा मूल्याङ्कन महाशाखाका इञ्चार्ज सहसचिव डा। भीष्मकुमार भुसालले बताउनुभयो ।
गृह मन्त्रालयले नयाँ नागरिकतामा अपमानजनक नाम नराख्न र पहिले वितरण भएका नागरिकतामा नाम सच्याउन सबै जिल्ला प्रशासन कार्यालय गरेको परिपत्रकै आधारमा संशोधनको काम सुरु गर्नुपर्ने मानव अधिकार रक्षक सञ्जाल दैलेखका जिल्ला संयोजक विशाल सुनारको सुझाव छ । ‘परिपत्रले प्रयाप्त छ, विधि प्रक्रिया भनेर फेरि कामलाई अल्मलाउने कुचेष्टा नहोस्’, संयोजक सुनारले भन्नुभयो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया