कपिलवस्तुमा निर्माण सकिएर पनि होल्डिङ सेन्टर प्रयोगमा आउन सकेन

राजेन्द्र खनाल, कपिलवस्तु । पछिल्लो केही साता यता कपिलवस्तु सहित देशभर कोरोना संक्रमितको ग्राफ बृद्धि भइरहेका बेला यसको सावधानीमा भने त्यति ध्यान दिइएको छैन । पछिल्लो एक साताको तथ्या्क हेर्दा कपिलवस्तु जिल्लामा परिक्षण गरिएका मध्ये सत्रिय संक्रमितको संख्या ८३ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय तौलिहवाका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार दैनिक १ सय देखि १५० जना सम्मको कोरोना परिक्षण हुने गरेको छ । विशेष गरी कपिलवस्तुमा नेपाल भारत सिमा क्षेत्रमा परिक्षणलाई जोड दिइएको छ । भारतीय भुमि हुँदै नेपाल भित्रने नागरिकहरु बढी संक्रमित हुने गरेका छन् । संक्रमण पुष्टी भएकाहरुलाई होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्ने टुङ्गो लाग्न नसक्दा होम आइसोलेसनमै फठाउने गरिएको छ ।

कपिलवस्तुको कृष्णनगरमा कोरोना संक्रमित व्यक्तिहरुका लागि राख्न भनि बनाइएको होल्डिङ् सेन्टर कसले सञ्चालन गर्ने भन्ने विषयमा टुङ्गो लाग्न नसक्दा निर्माण सकिएर पनि प्रयोग बिहिन बनेको छ । सीमा क्षेत्रमा कोरोना परीक्षण पश्चात रिर्पाेट पोजेटिभ देखिएकाहरुलाई तत्काल व्यवस्थापन गर्नका लागि सो कपिलवस्तुको कृष्णनगरमा होल्डिङ सेन्टर निर्माण गरिएको छ तर यो सेन्टर कहिलेबाट कसले सञ्चालन गर्छ भन्ने अनिश्चित हुँदा संक्रमतहरु आफ्नै घरमा जाने गरेका छन् ।

कपिलबस्तुको कृष्णनगर क्षेत्रमा कोभिड १९ का सङ्क्रमितहरूको उपचार तथा भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्ने उद्देश्यसहित होल्डिङ सेन्टर निर्माण गरिएको छ । तर नगरपालिका आफैले संचालन गर्ने वा स्वास्थ्य कार्यालयले जिम्मा लिने भन्ने विषयमा राज्यस्तरबाट टुङ्गो नलाग्दा भने अहिले संक्रमित हुनेहरु आफ्नै घरमा सोझै जाने गरेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम नेपाली सेनाले निर्माण गरेको सो होल्डिङ सेन्टरमा १ हजार जना क्षमताको बनाइएको छ । नेपाली सेना मार्फत् हनुमान कन्स्ट्रक्सन प्रालिले होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएकोे थियो । कृष्णनगर सिमा नाका मै ६ सय बेड र शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर निर्माण गरिएको हो । उक्त होल्डिङ सेन्टरको लागत रु २७ करोड ८७ लाख रहेको छ । निर्माण सकिएर पनि प्रयोग बिहिन बनेको होल्डिङ सेन्टर कसले चलाउने भन्ने अन्यौल भएका कारण प्रयोगमा आउन नसकेको स्वास्थ्य कार्यालय तौलिहवाका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

होल्डिङ सेन्टरको निर्माण सम्पन्न भई अहिले नेपाली सेनाको जिम्मामा रहेको प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो । कोरोनाको अवस्था हेरी छिटै संचालनमा आउने उहाँको भनाइ छ ।

होल्डिङ सेन्टरको सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुम लगायतको महत्वपूर्ण सेवा सुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ । चार बिगाहा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको विस वटा अलग अलग ब्लग रहेका छन् । भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौँको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ ।

देशभर कोरोना संक्रमित समेत बढिरहेका छन् । कपिलवस्तुका सिमा नाकामा चेकजाँचका क्रममा दैनिक जसो अहिले कोरोना संक्रमितहरु फेला पर्ने गर्छन ।

प्रतिक्रिया

खबर सबै