

पहिरोको त्रास : रित्तियो गाउँ





रासस
पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छोडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छोडेका राजु पौडेल र सात वर्षमा विद्यालय छोडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरू जन्मेको थातथलो नै छाडेर हिँडे ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उनीहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुन् । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेसा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।
विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।
‘न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्’, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँडेका राजुले भने, ‘पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।’ बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उनले बताए ।
कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन्।
‘गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन’, उनले भने, ‘गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।’ रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउँछन् । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।
टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौं र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।
विपत्ले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उनले बताए ।सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पुर्याउने उनले बताए । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उनको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पुँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।
बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पुर्याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया