

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपिँदै





राससँ/ काठमाण्डौ : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा। रामचन्द्र गौतम बताउनुहुन्छ । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका ठाउँमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।
चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ । दुई वर्ष अघिदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्त्व स्पष्ट पार्छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया