मुसिकोटमा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित धैरेनीचौरमा निर्माण भएको ३३र११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिने छ ।

कार्यक्रममा मन्त्री भुसालले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्‍याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयास भइरहेको बताइन् ।

विद्युतमा आत्मनिर्भर बन्नेतर्फ मुलुक अगाडि बढेको भन्दै उनले बर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालिएको उनले बताइन् । थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे । आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै उनले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ । सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।

प्रतिक्रिया