

डोको बेचेर खिमबहादुरले टार्छन घर खर्च



रामबहादुर गन्धर्व, कपिलवस्तु ।
गुल्मीको धुर्काेट गाउँपालिका वडा नम्बर ३ का खिमबहादुर बि.क वर्षाै देखि बाँसका चोया र भाटा सँग आफ्नो दैनिकी साटिरहेका छन् । उनको दैनिकी नै बाँसका सामग्री बनाउने र ति सामग्री विक्रि गर्नुमै बितिरहेको छ ।
बाँस र बाँसबाट बनेका विभिन्न घरायसी प्रयोजनका सामग्रीहरु डोको, डालो र नाङ्लो बनाउने पेशामा अब्बल खिमबहदुर यतिबेला अर्घाखाँचीको सन्धिखर्कमा बस्छन् र अर्घाखाँचीका विभिन्न गाउँ ठाउँहरु सहित छिमेकी जिल्ला कपिलवस्तु, रुपन्देही र दाङ सम्म आफ्नो हातको सिप विक्रि गर्न पुग्ने गरेको सुनाउँछन् ।
खिम बहादुर बि.क.ले बर्षाै देखि डोको र डालो बुनेर आफ्नो घर खर्च समेत चलाउदै आएका छन् । उमेरले ४४ बर्ष पुगेका उनी २ बर्ष देखि सन्धिखर्कमा डेरा लिएर बस्दै आएको बताए । उनका ३ छोरा, १ छोरी सहित ६ जनाको परिवार रहेको बताए ।
आधुनिकतासँगै बजारमा पाईने विभिन्न प्लास्टिक र स्टीलका सामग्रीले बाँसका सामग्री लोप हुने खतरामा पुगेको उनको बुझाई छ । बाँसबाट बनाइएका डाला, सुपा बिक्न छोडेकाले आफ्नो रोजीरोटीमा समस्या समेत बढेको उनको भनाई छ । अहिले सन्धिखर्कमा बसेर श्रीमती र २ छोरा कच्चा पदार्थ जोहो गरी साना ठुला परिवारका आवश्यकता डोको र डालो बेचेरै पुरा गर्ने गरेको उनले बताए ।
आफुले बनाएका डोको विक्रि गर्नका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा भेटिएका उनी भन्छन्, “दुख छ हजुर, आजभोली बजारमा पाइने अरु सामान बढी छन, बाँसका डोका डाला प्रयोग गर्ने छोडे ।”
उनले बुनेका डोकाको मुल्य प्रति डोका ४५० देखि ६०० सम्म पर्ने गरेका छन् । एउटा डोकाबाट २००÷२५० बच्ने गरेको उनको ठम्याइ छ । हातको सिप बाँसका चोया बुन्नमा व्यस्त खिमबहादुरको सिप भने पछिल्लो समय संकटमा पर्न लागेको छ ।


प्रतिक्रिया