कपिलवस्तुमा सियूजी सिम सूचारु हुन ढिलाई

कपिलवस्तु ।

कोरोना महामारीका कारण भौतिक रुपमा विद्यार्थीको उपस्थितिमा विद्यालय संचालन हुन नसकेपछि सरकारले बैकल्पिक माध्यमबाट शिक्षण गर्ने उद्धेश्य सहित अहिले शिक्षक र विद्यार्थीहरुलाई सियूजी सिमकार्ड वितरण गरेको छ । तर सिमकार्ड विद्यालयले खरिद गरेको १५ दिन वितिसक्दा पनि नेपाल टेलिकमले सिम सुचारु नगरिदिँदा शिक्षक र विद्यार्थीहरुले त्यसको उपयोग गर्न सकेका छैनन ।

कपिलवस्तुमा नेपल टेलिकमको तौलिहवा कार्यालयबाट सो सिमकार्ड खरिद गरी जिल्लाका सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुलाई वितरण गरिसकेका छन् भने कतिपयले वितरण गर्ने पर्खाईमा छन् । तर टेलिकमले दुइ साता वितिसक्दा सम्म सिमकार्ड सुचारु गर्न ढिलाई गर्दा त्यसको प्रयोग र प्रभावकारीता शुन्य अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापकहरुको भनाई छ ।

सिमकार्ड ल्याएको १३ दिन भयो, एक्टिभ भएको छैन, बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले भन्नुभयो, सिम एक्टिभ नभएका कारण वितरण गर्न समेत ढिलाइ भएको छ ।

विद्यालयमा विद्यार्थीको भौतिक रुपमा उपस्थित गराई विद्यालयमा पठनपाठन गराउन जोखिम देखिएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा चार देखि माथिका विद्यार्थी र विषय शिक्षकहरुलाई सो सियूजी सिमकार्डको अवधारणा ल्याएको थियो । मासिक प्याकेज मार्फत एक विद्यालय एक समूह बनाई सो समुह भित्र निः शुल्क फोन गर्न सकिने र सो सिम प्रयोगकर्ताले कक्षाकत सिकाई सामग्री समेत निःशुल्क हेर्न सक्ने प्रविधि सहितको व्यवस्था गरिएको छ । तर सिमकार्ड सूचारु नहुँदा त्यसको प्रयोग शून्य छ । बाणगंगाका अधिकाशं सामुदायिक विद्यालयहरुले सो समिकार्ड टेलिकमबाट विद्यालयमा ल्याएका छन् तर विद्यार्थीको पहूँचमा पुग्न अझै सकेको छैन । सिमकार्ड सूचारु नभएकाले विद्यार्थीलाई वितरणमा ढिलाई भएको विद्यालयले जनाएका छन् ।

उता नेपाल टेलिकम तौलिहवाका अनुसार पछिल्लो १० दिन भन्दा पहिलेका सिम सूचारु भएको दावी छ । कार्यालयका अधिकृत ताराप्रसाद पोख्रेलले अबको केही दिनमा सबै सिम सूचारु हुने आवश्वासन दिएका छन् । उनले १० दिन पहिले फाराम भरी सिम लिएका विद्यालयको सूचारु भएको र अन्यको क्रमश हुने बताए । आफूहरुले सबै विवरण पठाएको भन्दै उनले अबको केही दिनमा सिम सूचारु हुने दावी पनि गरे ।

यस्तै कार्यालय प्रमूख साधूशरण काईका अनुसार सूरुवाती समयमा एक हप्ता समय लाग्ने भनिएको भए पनि कुनै कुनै विद्यालयको दुई हप्ता समेत लाग्ने गरेको बताएका छन् । उनका अनुसार विद्यालय स्वयमले भर्नुपर्ने फारममा त्रुटीहरु भएमा ढिलाई हुने गरेको छ । यद्यपी भने अनुसारले काम हुन नसकेको उनले स्विकार गरेका छन् । कपिलवस्तुमा अहिले पनि २० देखि २५ वटा विद्यलायका फाइल रोकिएका छन् । अहिले सम्म जम्मा २० वटा विद्यलायको सिम सूचारु भएको नेपाल टेलिकमको कार्यालय तौलिहवाले जनाएको छ ।

उता भार्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल पौडेलले सिम विद्यार्थीलाई वितरण गरिएको तर यसको उपयोगिता बारे पूर्ण जानकारी नहुँदा फोनमा कुरा गर्ने काम मात्र भईरहेको बताउनुभयो । सिमको फाइदा धेरै सुनिएको तर उपयोगमा ल्याउँदा पूर्ण प्रयोग हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै