बाणगंगामा दिइयो चालक र सह चालकलाई लेन अनुशासनबारे जानकारी

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा लेन अनुशासन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । इलाका प्रहरी कार्यालय पिपराको अयोजनामा बुधबार बाणगंगा नगरपालिका स्थित जितपुरमा वेयलफेयर सोसाइटीको सह आयोजनामा सडकमा यात्रारत यात्रु तथा चालकहरुलाई लेन अनुशासनको बारेमा जानकारी प्रदान गरिएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको प्रहरी टोली सँगै अस्थाई ट्राफिक प्रहरी पोष्ट पिपरा, कपिलवस्तुबाट प्रहरी सहायक निरिक्षक चुडामणि पोख्रेल सहितको ९ जना प्रहरी टोली र वाणगंगा वेयलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाण तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा विभिन्न सवारी साधनका चालकहरु, सह चालकहरुको सहभागितामा सडकमा यात्रा गर्दा लेन अनुशासनको पालना गर्नुपर्ने विषय र यसको नियमबारे जानकारी प्रदान गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

कार्यक्रममा प्रहरी निरिक्षक दिनेश गुरुङले सडक लेन जुनसुकै सवारी साधन, साइकल यात्री तथा सडकमा हिड्ने पैदलयात्री सबैले अनिवार्य पालना गर्नुपर्ने बताउनुभयो । लेनको पालना गर्नु हामी सबैको दायित्व रहेको प्रहरी निरिक्षक गुरुङको भनाई छ । ट्राफिक नियम सबैका लागि र सधैका लागि भएको भन्दै उहाँले त्यसको मनन गर्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपराका प्रहरी सहायक निरिक्षक चुडामणि पोख्रेलले लेनको विषयमा सहभागीहरुलाई जानकारी दिनुभयो । सो कार्यक्रम बुधबार बिहान एक घण्टा संचालन गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै