कपिलवस्तुमा स्वास्थ्य मापदण्डबिना सभा र गोष्ठी, प्रशासनको निषेधाज्ञा नाम मात्रै

कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले असार ७ गते जारी गरेको निषेधाज्ञाको पछिल्लो सूचना अनुसार अहिले कपिलवस्तुमा निषेधाज्ञा खुल्ला जस्तै बनेको छ । यद्यपी प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, तालिम र गोष्ठीलाई निषेध भने गरिएको जनाएको छ । तर जिल्लाका प्राय सबैजसो स्थानमा पछिल्लो एक साता यता सभा सम्मेलन र भिडभाड भने सामानय स्थितिमा जस्तै बनेको छ ।
स्थानीय तहहरुले भिडभाडका साथ औपचारीक तरीकाले सामान्य समयमा जस्तै गरी सभा सम्मेलन गरिरहेका छन भने निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन् । यस्तै पसल व्यवसायमा पनि मापदण्डको कुनै पालना हुन सकेको छैन । यस्तो अवस्थाले फेरी कोरोनाको थप भयावह अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
बुधबार र बिहिबार कपिलवस्तुका अधिकासं स्थानीय तहहरुले नगरसभा आयोजना गरेका थिए । सो सभामा उपस्थित नागरिकहरुले स्वास्थ्यका मापदण्ड, अनिवार्य मास्को प्रयोग, सामाजिक तथा भौतिक दुरीको कायम जस्ता कोरोनाबाट बच्ने सबै मापदण्डलाई बिर्सिए । उता जिल्ला प्रशासन कार्यालयले भने यी सबै उपायलाई अनिवार्य पालन गर्न भनेको छ । यस्तै बजारक्षेत्रमा पनि नागरिकस्तबाट निषेधाको अवज्ञा भईरहेको पाइएको छ । जसका कारण कोरोनाको अर्काे जोखिम निम्तने खतरा पनि बढेको छ ।
हाल कपिलवस्तु जिल्लामा १३१ जना कोरोनाका सक्रिय संक्रमितहरु छन् । कोरोना कै कारण जिल्लामा अहिले सम्म १९३ जनाको ज्यान गईसकेको छ । स्वास्थ्य कार्यालय तौलिहवाका कोरोना नियन्त्रण फोकल पर्संन उमेशचन्द्र घिमिरेका अनुसार कोरोनाको परिक्षणको दायरा बढाउन स्थानीय तहहरुलाई आग्रह गरिएको भए पनि स्थानीय तहहरुमा नगर सभा र बजेट कार्यक्रममा केन्द्रित रहेकाले केही ढिलाई भईरहेको छ । कोरोनाको परिक्षण दर घटाउँदै जाँदा जिल्लामा संक्रमितको संख्यामा पनि अहिले कमी आएको घिमिरेले बताउनुभयो । उहाँका अनुसार कपिलवस्तुमा अहिले सम्म ५ हजार ४ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ५ हजार ९९ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै जिल्लामा थप निषेधाज्ञाको समय लम्ब्याउने वा अझै खुल्ला बनाउने भन्ने बारे निर्णँय लिन सोमबार जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रमूख जिल्ला अधिकारी चक्र पाणी पाण्डेका अनुसार अहिले स्थानीय तहहरुमा नगरसभा चलिरहेका कारण नियम उल्लङ्घन भएजस्तो देखिएको तर गर्नै पर्ने अतिआवश्यक कामका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार कपिवलस्तुमा पनि निर्णय गरिने उहाँले जानकारी दिनुभएको छ । सोमबार बस्ने डिसिसिएमसीको बैठकले पनि शिक्षण संस्था, ठूला जमघट हुने स्थान, पाटीप्यालेस तथा सभा गाष्ठी र सेमीनार तालिमहरु सहित सार्वजनिक यातायताका क्षेत्र संचालनमा निषेध लगाउने बताइएको छ । कोरोनाको जोखिम अझै कायमै रहेकाले पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

खबर सबै