

इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित



काठमाडौं
इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ ।
अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई पुनः सक्रिय बनाउन भियनामा गर्दै आएको वार्ता स्थगित भएको हो । वार्तामा सहभागीहरु आ–आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।
अधिकारीहरुले केही बुँदामा अझै पनि असहमति बाँकी रहेको र त्यसलाई समाधान गर्न आवश्यक रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानको सरकारी टेलिभिजनसँग भनेका छन्, ‘हामी सम्झौतामा पहिलेभन्दा धेरै नजिक त छौं तर अझै पनि केही दुरीहरु छन् जसलाई पार लगाउन सहज छैन । आज हामी तेहरान फर्किने छौं ।’
बीबीसीका अनुसार वार्ता फेरि कहिले सुरु हुन्छ भन्ने निश्चित छैन । तर आगामी १० दिनमा फेरि वार्ता हुन सक्ने अपेक्षा गरिएको छ ।
सन् २०१५ को पमारणु सम्झौता बहाल गर्न गत वर्ष अप्रिलबाटै भियनामा वार्ता हुँदै आएको छ । ताकि अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउन सकियोस् र सम्झौतालाई पुरानै अवस्थामा फर्काउन सकियोस् ।

वार्ता चलिरहेको बेला इजरायलले इरानको परमाणु कार्यक्रमको कटु आलोचना गरेको छ । इजरेलका प्रधानमन्त्री नाफ्टाली बेनेटले अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका हुन् । इजरायलले इरानसँग भएको परमाणु सम्झौताको विरोध गर्दै आएको छ ।
इरानका अति पुरातनवादी विचार राख्ने एब्राहिम राइसी नयाँ राष्ट्रपतिको रूपमा शुक्रबार चुनिएका थिए । उनले आगामी अगस्टमा जिम्मेवारी सम्हाल्नेछन् । राइसीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । उनीमाथि राजनीतिक बन्दीहरूलाई विगतमा मृत्युदण्ड दिएको आरोप लाग्दै आएको छ ।
वार्ता स्थगित भएपछि सबैको ध्यान इरान र संयुक्त राष्ट्रसँग जोडिएको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका अन्य सम्झौतातर्फ तानिएको छ । यो सम्झौता २४ जूनमा समाप्त हुँदै छ । इरानलाई सन् २०१५ मा भएको परमाणु सम्झौतामा नजर राख्नका लागि अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले सुझाएका उपाय पालना गराउने सो सम्झौताको उद्देश्य हो ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया