

साढे दुई रुपैयाँको मास्कलाई १० रुपैयाँ


![]()
काठमाडौँ
कोभिडको मौका छोपी सर्जिकल सामग्री बिक्री गर्ने व्यवसायीहरूले मास्कमा अनुचित मूल्य लिएपछि सरकारले कारबाही थालेको छ ।
अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको छ । तर सोही मास्क सर्वसाधारणले प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
‘सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखियो,’ विभागका प्रवक्ता शिवराज सेढार्इंले भने, ‘बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस/स्टोरलाई कारबाही गरिरहेका छौं ।’ अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने उनले जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको थियो । तीनवटै स्टोरको बिल पारदर्शी थिएन ।
खरिद र बिक्री बिल देखाउन नसकेपछि तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको सेढाईंले बताए । ‘खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपारदर्शिता हो । यसले मूल्यमा धेरै असर पार्छ,’ उनले भने । ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको छ ।
विभागले शुक्रबार नै भक्तपुरमा रहेको हिमालयन लाइफ केयर इन्डस्ट्रिजमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा कम्पनीले थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसाका दरले बिक्री गरेको पाइएको थियो । कम्पनीले ४५ पिसको प्याकेट बनाई बिक्री गरिरहेको पनि भेटिएको थियो । ‘दैनिक करिब १ लाख ५० हजार पिस मास्क उत्पादन गर्ने क्षमता रहेको उक्त उद्योगले मुनाफा राखेर थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसामा बेचेको बिल देखियो । तर प्याकेटमा मूल्यसूची राखेको थिएन । एमआरपी नभएपछि खुद्रामा चलखेल हुन सक्छ,’ सेढाईंले भने, ‘त्यही कारणले हिमालयनलाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) अनुसारको कसुरमा ऐनको दफा ३९ (१) (घ) बमोजिम ५० हजार जरिवाना गरिएको हो ।’
विभागले आइतबार पनि त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सप्लायर्सले मास्कमा दोब्बर मूल्य लिएकाले जरिवाना गरिएको विभागले जनाएको छ । ‘प्रतिपिस ४.४६ मा थोक खरिद गरेकामा ८.३८ रुपैयाँमा बिक्री गरेको देखियो,’ सेढार्इंले भने । मास्कको मूल्य मनपरी भए पनि विभागले मूल्य तोक्न सक्दैन । अहिले विशेष परिस्थिति भएकाले गुणस्तर छुट्याउने, सोहीअनुसार मास्कको वर्गीकरण गरेर उत्पादन र खुद्रा मूल्य निर्धारण गर्नुपर्ने जानकारहरू बताउँछन् । यसले ठगीबाट केही हदसम्म बच्न सकिने विभागका कर्मचारीको भनाइ छ ।
मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी दैनिक ३ टोली अनुगमनमा खटाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘अहिले सबैलाई मास्क चाहिएको छ । सर्जिकल स्टोरले २ रुपैयाँको मास्क १० रुपैयाँमा बिक्री गरिरहेका छन्,’ उनले भने, ‘सबै पसलमा अनुगमन र कारबाही गर्न नसके पनि सांकेतिक रूपमा सबैलाई कानुनी दायरामा ल्याइरहेका छौं ।’ बजारमा प्रभावकारिता ल्याउन स्थानीय प्रशासन, निकाय, खाद्य विभागले पनि अनुगमन गर्नुपर्ने उनले बताए ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया