मृतकको अन्त्येष्टीमा सहभागी भएकैमाथि गोली चलाए म्यान्मारका सेनाले

काठमाडौं

म्यान्मारमा आइतबार मृतकको अन्त्येष्टीमा पनि सेना तथा प्रहरीले गोली चलाएका छन्।

सुरक्षाकर्मीको गोली प्रहारबाट ११४ प्रदर्शनकारीको मृत्यु भएको भोलिपल्टै आइतबार एक अन्त्येष्टीमा सेना तथा प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

शनिबारको नरसंहारमा मारिएका एक व्यक्तिको अन्त्येष्टीमा सुरक्षाकर्मीले आइतबार गोली चलाएका हुन्।

बागो शहरमा उक्त अन्त्येष्टीको आयोजना गरिएको थियो। हालसम्म यो घटनामा हताहतीको विषय सार्वजनिक भएको छैन।

अन्त्येष्टीमा सहभागी एक महिलाका अनुसार शनिबार मारिएका एक व्यक्तिको अन्त्येष्टीमा उनको सम्मान स्वरुप क्रान्तिको गीत गाउन लागिएको थियो।

सोही क्रममा सेना तथा प्रहरीले मानिसहरुमाथि गोली चलाएका हुन्।

आइतबार पनि सेना तथा प्रहरीको गोली लागेर विभिन्न स्थानमा दुई जनाको मृत्यु भएको खबरहरु सार्वजनिक भएका छन्।

स्थानीयका अनुसार सुरक्षाकर्मीले चरा र कुखुरा मारेजस्तै जनताको ज्यान लिइरहेका छन्। एससीएमपी

प्रतिक्रिया

खबर सबै