

‘कोरोना जितेर बैंक आउँदा त काममा अर्कैलाई राखिसकेका रहेछन्’


रासस
कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ।
एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो।
ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत् गत पुस १ गते पिसिआर परीक्षण गर्न उनले स्वाब दिएका थिए।
‘पुस ५ गते कोरोना संक्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेसन बसेको थिएँ’, उनले भने, ‘कोरोना जितेर बैंक आउँदा त काममा अर्कैलाई राखिसकेका रहेछन्।’
रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरे।
‘टोल, छिमेकमा कोरोना संक्रमित भनेर दुर्व्यवहार सहनुपर्यो’, उनले भने, ‘आइसोलेसन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ।’
बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ।
रोजगारीको खोजीमा उनले चार वर्ष मलेसियामा काम गरेका थिए। बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन्। कम्पनीले मासिक रु १८ हजार तलब दिने गरेको थियो।
जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ।
प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षा गार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताए। काठमाडौंमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे।


खबर सबै
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज






प्रतिक्रिया