

जनता आवास कार्यक्रम : कपिलवस्तुमा १ सय ६८ घर निर्माण हुने



कात्तिक ११, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्र्तगत यस वर्ष कपिलवस्तु जिल्लामा यस वर्ष १६८ घर निर्माण हुने भएका छन् । गर्त आर्थिक वर्ष कपिलवस्तुका विभिन्न स्थानिय तहमा गरि कुल १५० घर निर्माण सम्पन्न भएका थिए । यस वर्षका लागि १६८ घर निर्माणको छनौटमा परिसकेको र अब केही समयमै निर्माण कार्य सुरु हुने प्रदेश सभा सदस्य विष्णु पन्थीले बताउनुभयो । सांसद पन्थीको निर्वाचन क्षेत्रमा मात्रै यस वर्ष वाणगंगा नगरपालिकाको वडा नम्बर १,२,४ र ११ सँगै मायादेवी गाउँपालिकाको वडा नम्बर ३ मा सो घर निर्माण हुनेछन् ।
नेपाली नागरिकता भएका, आफ्नो जग्गा जमिनमा सामान्य झुपडीमा बसोबास गर्दै आएका विपन्न वर्गका दलित, मुस्लिम तथा सिमान्तकृत परिवारका लागि प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्र्तगत सो घर बनाईदिने गरेको छ । जसका लागि गरिब तथा विपन्न भए पनि ब्राह्मण, क्षेत्री र अन्य वर्गका नागरिकहरु भने समावेश हुने छैनन् ।
यसैबिच उता दाङमा पनि यस वर्ष २६७ घर निर्माण हुने भएका छन् । आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि सञ्चालित यो कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्र्तगत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट पनि भएका छन् ।
घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा तीन लाख ३२ हजार ५००रुपैँया अनुदान पाउने छन् । पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने प्रमुख देवको भनाइ छ ।
त्यस्तै विगत दुई बर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्वनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ । कपिलवस्तुमा गत वर्ष १५० घर निर्माण सम्पन्न भएका छन् ।


प्रतिक्रिया