प्रदेश राजधानीप्रति गर्व गर्ने गराउँछु : मुख्यमन्त्री पोखरेल

असोज २० बुटवल ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरिएकाले गर्वगर्न लायक राजधानी बनाउने दावी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानीलाई प्रदेशसभाका सबै सदस्यले गर्व गर्ने ठाउँ बनाउने बताए । पहिल्यै बसाइसराइबाट शहर बनिसकेको ठाउँमा भन्दा भर्जिन ल्याण्डमा व्यवस्थित र नमुना शहर बनाउन खोजेको पनि उनले बताए ।

‘हामीले मास्टरप्लान देखाउनेवित्तिकै यो मास्टरप्लान लिएर जाँदा प्रदेशसका सदस्यहरुले जे गरेछौं शानदार गरेछौं भन्ने वातावरण बनाउनेछौं’ उनले भने ‘तोक्नका लागि तोक्ने त्यसपछि सुतेर बस्ने खालको मान्यता होइन ।’

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल लुम्बिनी, राप्ती र भेरीको केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनले बताए ।

प्रदेशसभा बैठकमा मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक ९राप्ती र लुम्बिनी० मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने बताए ।

कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको जिकिर गरे ।

‘हामीले त्यो सोचाइ राख्यौं भने विमति हुनुपर्छ भन्ने लाग्दैन’ उनले भने । प्रदेशको सबैभन्दा ठूलो नदी सभ्यता भएको ठाउँमा प्रदेश राजधानी बन्न लागेको पनि पोखरेलले जिकिर गरे ।

उनले बुटवल–भैरहवा करिडोर क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि जनाए । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने पनि उनले बताए । ‘जबसम्म बनिसक्दैन तबसम्म हामी यहीँ हो बस्ने हो, निर्णय गर्नेवित्तिकै सर्ने हो भन्ने कुरा सत्य होइन’ मुख्यमन्त्री पोखरेलले भने ।

उनले प्रदेश राजधानी सरे पनि प्रदेश सरकार सिंगो प्रदेशभरको हुने भन्दै प्रदेश नेतृत्व नै बुटवलबाट बाहिर जान खोजेको अर्थमा नबुझ्न आग्रह गरे ।

मेरो घरबाट पनि टाढा पर्छ

मुख्यमन्त्री पोखरेलले आफ्नो ठाउँमा राजधानी लगेको भन्ने कुरा पनि गलत भएको जिकिर गरे । ‘मुख्यमन्त्रीको गाउँबाट भालुवाङ आउन जति समय लाग्छ । बुटवलबट पनि त्यति नै समय लाग्छ’ उनले भने ‘दाङ जिल्लाको पुरन्धराबाट भालुवाङ आउन जति समय लाग्छ । नवलपरासीको बर्दघाटबाट पनि त्यति नै समय लाग्छ ।’

उनले अगाडि थपे ‘यो मैले तर्कका लागि तर्क गरेको होइन । सबैको मनोविज्ञानलाई जोड्दा हामीले कस्तो ठाउँ रोजेका रहेछौं भन्ने बुझ्न सकिन्छ ।’

प्रतिक्रिया

खबर सबै