सीडीएमए टेलिकम बन्द गरिदै

साउन २१, २०७७ | बुधबार 
नेपाल टेलिकमले सेवा दिदै आएको सीडीएमए सेवा पूर्ण रुपमा बन्द गर्ने भएको छ । चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममामार्फत कम्पनीले स्काईफोन बन्द गर्ने र त्यसमा रहेका प्रयोगकर्तालाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना ल्याएको हो ।

यसअघि रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ बाट बन्द गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा टेलिकमले यस वर्षको वार्षिक कार्यक्रममा सीडीएमए माइग्रेसनलाई प्रमुख कार्यक्रमको रुपमा अघि बढाएको हो ।

‘हाल सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएम टूजी, थ्रीजी र फोरजीमा रुपान्तरण गरिनेछ कार्यक्रम रहेको छ,’ टेलिकमका सह–प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने, ‘यसलाई कम्पनीको यो वर्षको मुख्य कार्यक्रमकै रुपमा अगाडि बढाउन खोजेका छौं ।’

पछिल्लो समय नयाँ र सहज प्रविधिको रुपमा जीएसएम मोबाइल सेवाको विस्तारले रफ्तार लिएको छ । यस्तो अवस्थामा पुरानो प्रविधिमा आधारित सीडीएमए सेवालाई रुपान्तरण गर्न लागिएको भण्डारीले बताए ।

‘विस्तारै सीडीएमए प्रविधिलाई पूर्णरुपमा बन्द गर्ने तयारी छ,’ उनले भने, ‘त्यसो हुँदा सीडीएमएका ग्राहकलाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना बनाइएको हो । यो वर्ष नै यसको धेरै काम सम्पन्न हुनेछ । त्यसैअनुसार काम समेत अघि बढाइसकेका छौं ।’

प्रतिक्रिया