रुपन्देहीमा किशोरीको शंकास्पद मृत्यु अनुसन्धानमा आफन्तको आशंका

ई–साझाकुरा, भदौ ५

रुपन्देहीको कञ्चन गाउँपालिका–१ गजेडीकी १६ वर्षीया किशोरीको श‌ंकास्पद मृत्युको घटनामा प्रहरी अनुसन्धान फितलो रहेको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय सालझण्डी घेराउ गरेका छन् ।

प्रहरीले गाउँकै १७ वर्षका सुमन काला मगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।

किशोरीको गाउँका सामाजिक संघसंस्थाले हत्यालाई आत्महत्या बनाएर प्रहरीले जालझेल गरेको भन्दै अनुसन्धान प्रभावकारी बनाउन माग गरेका छन् । परिवार र स्थानीयले घटनामा सुमन मात्र नभई गाउँका अरु युवाको पनि संलग्नता रहेको दावी गर्दै सबैलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुखले घटनामा सुमनको मात्रै संलग्नता रहेको एकोहोरो तर्क गर्दै अरुलाई उन्मुक्ति दिन खोजेको परिवार र स्थानीयको आरोप छ । घटनाका विषयमा बोले ज्यान लिने भन्दै धम्की दिने सुमनको गाउँकै सातजना युवाहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने परिवार र स्थानीयको माग छ ।

आफन्तका अनुसार मृत्यु हुने किशोरी र सुमन प्रेम सम्बन्धमा थिए । सुमनले साउन २२ गते राति ११ बजे एसएमएस गरेर भेट्न बोलाएका थिए । राति १ बजे घरमा कसैलाई थाहा नदिई प्रेमी भेट्न घरदेखि केही टाढा चौरमा गएकी किशोरी अर्को दिन बिहान घर नजिकै जंगलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसै राति दुईजनाबीच शारीरिक सम्बन्ध भएको सुमनले प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् । किशोरीको भित्री वस्त्र र चप्पल प्रेमीसंग बसेको चौर नजिक भेटिएको, उनको लुगाका टुक्राहरु ठाउँठाउँमा भेटिएको, शव भेटिएको ठाउँ र उनीहरु बसेको ठाउँको दुरी टाढा भएकाले घटनामा एकजनाको मात्रै संलग्नता नभएको स्थानीय रमेशबहादुर नेपालीले बताए ।

किशोरीको भित्री वस्त्र झाडीमा भेट्टाएका सुमनले कसैले नदेख्ने गरी खल्तीमा राखेका र पछि कुलोमा फाल्न खोज्दा रुखमा अड्किएपछि अरुले थाहा पाएको नेपालीले बताए ।

किशोरीकी आमा सम्झनाले आत्महत्या नभई बलात्कारपछि झुण्ड्याएर हत्या गरिएको दावी गरेकी छन् । खाना खाने बेला सुमनसंगै मोबाइलमा कुरा गरेकी करुणा राति केही कपडा समेत लिएर गएकाले सुमनसंगै बिहे गर्न गएकी होला भन्ने ठानेको सम्झनाले बताइन् ।

पोष्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक कमल परियारले बताए । मृतकका बुवा रनबहादुर घर्तीले करुणाले आत्महत्या गरेको हुनै नसक्ने दावी गरेका छन् ।

‘आत्महत्या गरेकै होइन, झुण्ड्याएर मारिएको हो, सुमनले एक्लै पनि गरेको होइन, सहयोगी खोजेर सामूहिक बलात्कार गरी हत्या गरेका हुन्’ रनबहादुरले भने–‘उनीहरु बसेको चौरमा धेरै क्षेत्रफलमा झारहरु माडिएको छ, चप्पल र भित्री वस्त्रहरु यत्रतत्र फालिएको थियो ।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले घटनाबारे अनुसन्धान जारी रहेको र किशोरीको उमेर पनि नपुगेकाले जबरजस्ती करणी अभियोगमा समेत मुद्दा चल्ने बताएका छन् ।

करुणा र सुमन दुबैजना स्थानीय दुर्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । उनीहरु एक वर्षअघिदेखि प्रेम सम्बन्धमा रहेको करुणाका अभिभावकले स्वीकार गरेका छन् ।

प्रतिक्रिया