तीन दिन मेघगर्जन र चट्याङसहित वर्षा, यी चार प्रदेशमा भारी बर्षाको सम्भावना

ई–साझाकुरा, २४ साउन २०७७

केहि दिनयता केहि कम भएको बर्षाको मात्र फेरि बढ्ने भएको छ ।

न्यून चापीय रेखा नेपालतर्फ नजिक हुँदै गएकाले अबका तीन दिन भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । प्रदेश–२ मा र प्रदेश–५ का केही भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा समान्य देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागका अनुसार देशभरका बाँकी स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ । हाल मनसुनी न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको विभागले बताएको छ ।

मौसमविद शान्ति कँडेलका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ । गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको मौसमविद् कँडेलले जानकारी दिइन् । यो भनेको मध्यम वर्षा हो । ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ ।

महाशाखाले शुक्रबार साँझ नै जारी गरेको विशेष मौसम बुलेटिनमा भनिएको छ– शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागनजिक सर्ने सम्भावना देखिएकाले २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
आउँदो तीन दिनको मौसम पूर्वानुमान

प्रतिक्रिया