बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद

खुतखुते सामुदायिक वनमा थप ४ नाल बन्दुक बरामद |

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–९ का सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुक लुकाएर राख्ने क्रम रोकिएको छैन। एकपछि अर्को सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद हुन थालेपछि वन क्षेत्र हतियार लुकाउने अखडा बन्दै गएको देखिएको छ।

यसैक्रममा प्रहरीले शुक्रबार भर्लावासस्थित खुतखुते सामुदायिक वनबाट थप ४ नाल भरुवा बन्दुक बरामद गरेको छ। यसअघि अमृते सामुदायिक वन भर्तापुर, खोजिपुर सामुदायिक वन जिनुवा र कालिका सामुदायिक वन बक्सिसपुरबाट ११ नाल भरुवा बन्दुक बरामद भएका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्दा बन्दुक फेला पारेको हो।

प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले काठको गोलियाभित्र स्याउलापातले छोपेर लुकाइएको अवस्थामा चारवटै बन्दुक बरामद गरेको थियो। बरामद बन्दुक सावुत अवस्थामा रहेको र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको प्रहरीले जनाएको छ।

एउटै वडाका विभिन्न सामुदायिक वनबाट पटक–पटक बन्दुक बरामद हुनुले हतियार लुकाउने प्रयोजन र त्यसमा संलग्न व्यक्तिबारे गम्भीर प्रश्न उठाएको छ। वन क्षेत्रमा यति ठूलो संख्यामा बन्दुक कसले, किन र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने अझै खुलेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

खबर सबै