


कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै



बाढी, डुबान तथा मौसमजन्य विपद्को जोखिम न्यूनीकरण गर्न कपिलवस्तुमा नौ वटा नयाँ जल तथा मौसम मापन केन्द्र स्थापना गरिएको छ। नयाँ केन्द्र थपिएसँगै लुम्बिनी प्रदेशमा जल तथा मौसम मापन केन्द्रको संख्या ९९ पुगेको छ।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार प्रदेशमा हाल ७८ वटा मौसम मापन र २१ वटा नदी जल मापन केन्द्र सञ्चालनमा छन्। ७८ मौसम मापन केन्द्रमध्ये ५६ वटा वर्षा मापन, १६ वटा हावापानी मापन, चार वटा कृषि हावापानी मापन र दुई वटा हवाई मौसम मापन केन्द्र रहेका छन्। नेपालगञ्ज विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक–एक वटा हवाई मौसम मापन केन्द्र सञ्चालनमा छन्।
कपिलवस्तुमा नयाँ नौ केन्द्र थपिएसँगै जिल्लामा जल तथा मौसम मापन केन्द्रको संख्या १५ पुगेको छ। विशेषगरी वाणगंगा जलाधार क्षेत्रमा बाढी, डुबान तथा मौसमजन्य विपद्को जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चार वटा मौसम र पाँच वटा जल सतह मापन केन्द्र स्थापना गरिएको हो।
यसअघि कपिलवस्तुमा तौलिहवा, पत्थरकोट, भगवानपुर र वाणगंगामा गरी चार वटा मौसम मापन केन्द्र तथा कोठी र कोइली नदीमा जल मापन केन्द्र सञ्चालनमा थिए।
नयाँ स्थापना गरिएका मौसम मापन केन्द्रमध्ये शिवराज नगरपालिका–मैनार, अर्घाखाँचीको सिमलपानी, बुद्धभूमि नगरपालिकाको रनगाई र यशोधरा गाउँपालिकाको बैदौलीमा केन्द्र रहेका छन्। यी केन्द्रबाट तापक्रम, वर्षा, हावाको गति लगायत मौसमसम्बन्धी तथ्याङ्क संकलन गरिनेछ।
त्यसैगरी गुडरुङ खोला, बेल नदी तथा वाणगंगा नदीअन्तर्गत पावरा, रामघाट र बर्गदाघाटमा जल सतह मापन केन्द्र स्थापना गरिएको छ। ती केन्द्रबाट नदी तथा खोलाको जल सतहको नियमित मापन गरी बाढीको सम्भावित जोखिमबारे पूर्वसूचना प्रवाह गर्न सहयोग पुग्ने बताइएको छ।
रेन परियोजनाको लगानीमा करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण गरिएका नयाँ केन्द्र स्थानीय तहलाई हस्तान्तरण गरिएको परियोजनाका पूर्वसूचना तथा कार्यक्रम संयोजक समिता पौडेलले बताउनुभयो। केन्द्रबाट प्राप्त तथ्याङ्कलाई स्थानीय तहले प्रभावकारी रूपमा प्रयोग गरी सम्भावित विपद्को सूचना समयमै समुदायसम्म पुर्याउन सके क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ।
मापन केन्द्रबाट प्राप्त तथ्याङ्क वर्षायाममा हुने बाढी तथा डुबानसँगै बेमौसमी वर्षा, असिना र चट्याङबाट हुन सक्ने क्षति न्यूनीकरणमा समेत उपयोगी हुने बताइएको छ। विशेषगरी कृषि बाली, पशुचौपाया र मानव बस्तीमा पर्न सक्ने जोखिमबारे समयमै सूचना प्रवाह गर्न केन्द्रले सहयोग गर्ने अपेक्षा गरिएको छ।
मौसमविद् हिरा भट्टराईले जल तथा मौसम मापन केन्द्रबाट नियमित तथ्याङ्क संकलन, सूचना प्रवाह र पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग गर्न सके विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया