

बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा



बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको एकीकृत विकासका लागि अन्तर्राष्ट्रिय विज्ञ, सम्पदाविद्, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिले साझा कार्यदिशा तय गरेका छन् ।
लुम्बिनीमा तीन दिनसम्म चलेको बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पर्यटक तथा तीर्थयात्रीको व्यवस्थापन, पर्यटन पूर्वाधार र सेवा विस्तार तथा स्थानीय समुदायको आर्थिक सहभागिता बढाउने विषयलाई अगाडि बढाउने निष्कर्ष निकालेको हो । सम्मेलन आइतबार सम्पन्न भएको हो ।
करिब साढे १२ अर्ब रुपियाँ बराबरको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना अन्तर्गत लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, रूपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्रामलाई एकीकृत सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । विश्व बैङ्कले परियोजनाका लागि ८५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृत गरेको छ ।
युनेस्कोकी संस्कृति एकाइ प्रमुख नाभा बस्न्यातका अनुसार सम्मेलनमा सम्पदा संरक्षण, आगन्तुक व्यवस्थापन, पर्यटन पूर्वाधार तथा सेवा र समावेशी स्थानीय आर्थिक विकास गरी चार विषयमा छलफल भएको थियो । विभिन्न मुलुकका विज्ञ तथा सरोकारवालाले बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकास, सम्पदा संरक्षण र पर्यटन व्यवस्थापनका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको कार्यान्वयनमा समेटिने भएको छ । सम्पदामैत्री पर्यटन विकास, पर्यटकको बसाइ अवधि वृद्धि, स्थानीय लाभ–साझेदारी तथा स्थानीय समुदायका लागि रोजगारी र व्यवसायका अवसर विस्तारलाई प्राथमिकतासाथ अगाडि बढाउने विषयमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव ज्ञानिन राईले अन्तर्राष्ट्रिय अनुभव र विज्ञका सुझावलाई परियोजनाको कार्यान्वयनमा उपयोग गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षण र दिगो व्यवस्थापनमा जोड दिइने बताउनुभयो ।
उहाँका अनुसार लुम्बिनीमा आउने पर्यटकलाई एउटै गन्तव्यमा सीमित नराखी तिलौराकोट, देवदह र रामग्रामसम्म जोड्ने गरी पर्यटन पूर्वाधार र सेवा विस्तार गर्न आवश्यक छ । यसबाट पर्यटकको बसाइ अवधि लम्ब्याउनुका साथै स्थानीय समुदायले पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने वातावरण तयार हुने छ ।
सम्मेलनमा युनेस्को, विश्व बैङ्क लुम्बिनी विकास कोष, नेपाल सरकारका विभिन्न निकाय, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदा र पर्यटन क्षेत्रका विज्ञ तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता थियो ।
युनेस्कोका लागि नेपालका प्रतिनिधि याको दु तोईले लुम्बिनीको विश्वव्यापी महत्त्व यसको आध्यात्मिक परम्परा र जीवन्त समुदायसँग जोडिएको भन्दै सम्पदाको विश्वव्यापी मूल्य जोगाउँदै स्थानीय समुदायको आवश्यकता सम्बोधन हुने गरी विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका डिभिजन निर्देशक डेभिड एन सिसलेनले बृहत्तर लुम्बिनी क्षेत्रको दिगो व्यवस्थापन र संरक्षणका लागि अन्तर्राष्ट्रिय अनुभव तथा साझेदारी आवश्यक रहेको बताउनुभएको थियो ।
परियोजनाले लुम्बिनी क्षेत्रमा पर्यटनसम्बन्धी पूर्वाधार र सेवा सुधार, गन्तव्य व्यवस्थापन, संस्थागत समन्वय, निजी लगानी आकर्षण तथा स्थानीय समुदायका लागि रोजगारी र आर्थिक अवसर विस्तार गर्ने लक्ष्य लिएको छ । सडक, सरसफाइ तथा ढल व्यवस्थापन, विद्युतीकरण, आगन्तुक सुविधा र ध्यान केन्द्रलगायतका पूर्वाधारमा समेत लगानी गरिने परियोजनाले जनाएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया