

बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम



बुटवल–गोरुसिङ्गे सडक विस्तार कार्य तोकिएको समयमै सम्पन्न हुनेमा आशङ्का बढेको छ । ठेक्का सम्झौताको करिब ६० प्रतिशत अवधि सकिँदा आयोजनाको भौतिक प्रगति भने २८ प्रतिशतमा सीमित रहेपछि निर्धारित समयमै काम सक्न चुनौती देखिएको हो ।
बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारका लागि २०८१ कात्तिकमा चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन चितवनको आशिष निर्माण सेवा जेभीसँग तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८४ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अब करिब १४ महिना मात्रै बाँकी छ । बाँकी अवधिमा करिब ७२ प्रतिशत काम सम्पन्न गर्नुपर्ने भएकाले निर्माणको गति उल्लेख्य रूपमा बढाउनुपर्ने देखिएको छ ।
१३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लागेको ५० किलोमिटर सडकखण्डमा रुपन्देही र कपिलवस्तुतर्फ २५/२५ किलोमिटरका दरले निर्माण भइरहेको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले हालसम्मको भौतिक प्रगति र बाँकी निर्माण अवधिबिच तालमेल नमिलेका कारण निर्धारित समयमै आयोजना सम्पन्न गर्न चुनौती रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तोकिएको समयमै काम सम्पन्न गर्न कठिन देखिन्छ । निर्माण कम्पनीले बर्खायामपछि थप जनशक्ति र उपकरण परिचालन गरेर कामको गति बढाउने तयारी गरेको छ ।”
आयोजना अन्तर्गत अहिले पुल, कलभर्ट, अन्डरपास, नाली, पर्खाल तथा वन्यजन्तु आवतजावतका लागि बाटो निर्माणको काम भइरहेको छ । सडक विस्तारका क्रममा आवश्यक संरचना निर्माणसँगै माटो तथा नदीजन्य निर्माण सामग्री व्यवस्थापनको कामसमेत भइरहेको आयोजनाले जनाएको छ । सूचना अधिकारी पौडेलका अनुसार कपिलवस्तुमा निर्माण गर्नुपर्ने १० वटा पुलमध्ये नौ वटा निर्माणाधीन अवस्थामा छन् । रुपन्देहीमा निर्माण गर्नुपर्ने ६७ वटा कलभर्टमध्ये ५६ वटाको निर्माण जारी छ ।
कपिलवस्तुतर्फ भने विद्युत्का पोल सार्ने काममा ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ । सडक विस्तारका लागि आवश्यक स्थानमा रहेका विद्युत्का पोल समयमै स्थानान्तरण हुन नसक्दा निर्माण कम्पनीले सहज रूपमा काम गर्न नपाएको आयोजनाको भनाइ छ । त्यसै गरी सडक निर्माणका लागि आवश्यक माटो तथा नदीजन्य सामग्रीको व्यवस्थापनमा देखिएको समस्याले पनि निर्माणको गति प्रभावित गरेको छ ।
आयोजनाले सडक विस्तारका क्रममा पर्ने संरचना तथा अवरोध हटाउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ । बर्खायाम सकिएपछि निर्माण कम्पनीले थप जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी निर्माणलाई तीव्रता दिने तयारी गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल– गोरुसिङ्गे सडकखण्ड लुम्बिनी प्रदेशको महत्वपूर्ण व्यापारिक तथा यातायात मार्ग हो । भारतसँगको सीमानाका हुँदै आउने तथा जाने मालवाहक र यात्रुवाहक सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्वपूर्ण मानिन्छ । सडक साँघुरो हुँदा लामो समयदेखि सवारी चाप, दुर्घटना तथा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको छ । सडक विस्तारपछि बुटवलदेखि गोरुसिङ्गेसम्मको आवागमन सहज हुनुका साथै सवारी चाप र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।
आयोजनाका अनुसार निर्माणका क्रममा देखिएका विद्युत् पोल स्थानान्तरण, निर्माण सामग्रीको उपलब्धता तथा अन्य स्थानीय समस्या समाधान गर्दै बाँकी अवधिमा कामलाई तीव्रता दिने तयारी भइरहेको छ । – गोरखा पत्रबाट


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया