सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की

सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्र्याक खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नति हुन नसक्दा यात्रुले स्तरीय सडक सुविधा पाउन सकेका छैनन् । 

तराईलाई बागलुङको ढोरपाटनसँग जोड्ने राष्ट्रिय महत्वको यो सडकमा ट्र्याक खोल्ने काम पूरा भए पनि सडक चौडा बनाउने, कालोपत्रे गर्ने तथा पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना कार्यालयले कुल १९७ किलोमिटर लामो सडकमा हालसम्म ४६ किलोमिटर मात्र कालोपत्रे गरिएको छ । पाँच वटा पुल निर्माण सम्पन्न भएका छन् भने विभिन्न खण्डमा सडक स्तरोन्नतिको काम चालु अवस्थामा छ ।

आयोजना प्रमुख इन्जिनियर गङ्गालबहादुर भण्डारीका अनुसार पर्याप्त बजेट नहुँदा निर्माणको काम अपेक्षित गतिमा अघि बढाउन कठिनाइ भइरहेको छ । उहाँले आवश्यक बजेट उपलब्ध नहुँदा निर्माण अवधि लम्बिँदै जाँदा लागतसमेत बढिरहेको बताउनुभयो ।

आयोजनाको प्रारम्भिक लागत करिब १० अर्ब रुपियाँ अनुमान गरिएकोमा अहिले बढेर १३ अर्ब रुपियाँ पुगेको छ । सडक निर्माण पूरा गर्न अझै सात अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्ने आयोजना कार्यालयको अनुमान छ । हाल सात वटा ठेक्कामार्फत निर्माण भइरहेको आयोजनामा केही ठेक्का भने अपेक्षित प्रगति नहुँदा समस्यामा परेका छन् । रुपन्देहीको कञ्चनखोलादेखि पाल्पाको खुर्सानेसम्मको १३ किलोमिटर खण्ड निर्माणको जिम्मा पाएको रमण–ओमबब जेभीको ठेक्का पटक पटक ताकिता गर्दा पनि प्रगति नभएपछि रद्द गरिएको छ ।

पाल्पाको खुर्सानेदेखि अर्घाखाँचीको पटौटीसम्मको २२ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको छ । सन्धिखर्कको माटेदेखि भण्डारसम्मको सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ । गुल्मीमा पुर्कोट–अर्खबाङ, सिमलटेरी–गर्जुरा तथा पुर्कोट–सिमलटेरी खण्ड निर्माणाधीन छन् । बागलुङको फलेटेखोर–देउराली खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ भने त्यसपछिको करिब २२ किलोमिटर खण्डमा ग्राभेल भइरहेको छ ।

आयोजनामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३५ करोड रुपियाँ विनियोजन भएको छ । आयोजना प्रमुख भण्डारीले बहुवर्षीय ठेक्का प्रणाली अनुसार बजेटको चार गुणासम्म ठेक्का लगाउन सकिने भए पनि स्रोतको सीमितताले नयाँ काम अघि बढाउन नसकिएको बताउनुभयो । यसैबिच आयोजनाले स्रोत सुनिश्चित भएको १० करोड रुपियाँबाट अर्घाखाँची र बागलुङमा नयाँ काम अघि बढाउन साउनमै दुई छुट्टाछुट्टै ठेक्काको सूचना प्रकाशित गरिसकेको छ ।  

प्रतिक्रिया

खबर सबै