बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’

राजेन्द्र खनाल, कपिलवस्तु । भोटेकोशी नदिमा आएको भीषण बाढीका कारण जनधनको अकल्पनीय क्षति भएपछि बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ कपिलवस्तुले राहत संकलन तथा वितरण गर्ने निर्णय गरेको छ।

क्लबका अध्यक्ष लायन सुमन क्षेत्रीको अध्यक्षतामा सम्पन्न क्लबको सचिवालय बैठकले बाढी प्रभावित परिवारलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका विभिन्न स्थानमा बाढीका कारण ठूलो क्षति भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल सहयोग आवश्यक रहेको निष्कर्ष निकालिएको क्लवका सचिव प्रेम पाण्डेले जानकारी दिएका छन् ।
बैठकले सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु स्टार, कपिलवस्तु दिदीबहिनी तथा लियो क्लबको एकीकृत सहकार्यमा राहत सामग्री संकलन गरी बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने निर्णय गरेको छ।

राहत सामग्रीअन्तर्गत विशेषगरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइने र आर्थिक रकमलाई क्लबले नेपाल सरकारको एकद्धार प्रणाली अन्र्तगत नै प्रदान गर्ने जनाएको छ। विपद्को कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउनु सामाजिक उत्तरदायित्वसमेत भएकाले सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बैठकले जनाएको छ।

बैठकमा आमन्त्रित ला. सागर पोखरेल (निवर्तमान अध्यक्ष, एलसी स्टार), ला. युवराज घिमिरे, ला. रमेश पौडेल, उपाध्यक्ष ला. सागर घिमिरे, पूर्व अध्यक्ष ला. नवदत्त घिमिरेलगायतको सहभागिता रहेको थियो।

लायन्स क्लब अफ कपिलवस्तुले विपद्का बेला मानवीय सेवाको भावनासहित अघि बढ्दै बाढी प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

खबर सबै