

कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?

साझाकुरा, कपिलवस्तु | चालु आर्थिक वर्षको समाप्तिको सम्मुखमा स्थानीय तहहरुले धमाधम आगामी वर्षको बजेट प्रस्तुतीसँगै नगरसभा समेत सम्पन्न गरिरहेका छन् । कपिलवस्तुमा अधिकाशं पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसकेका छन ।
कपिलवस्तु जिल्लामा रहेका दशवटा स्थानीय तहहरु मध्ये समयमै बजेट ल्याउने पालिका ८ वटा छन् । जिल्लाका दुई पालिकाले बजेट समयमै सार्वजनिक गर्न सकेनन् । जिल्लाका दुई गाउँपलिका शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिकाले गाउँसभा समयमै गर्न नसक्दा आगामी आर्थिक वर्षको बजेट पनि सार्वजनिक गर्न सकेनन् ।
बाणगंगाको १९ औँ नगरसभा, २ अर्ब बढिको बजेट पारित
कपिलवस्तुको बाणगंगा नगरपालिकाको १९ औँ नगरसभाबाट बुधबार आगामी आर्थिक वर्षका लागि २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख रिता कुमारी चौधरीले नगरसभामा बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जानकारी दिइन ।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताए । उनले नगरबासीको आवश्यकता र विकासका लक्ष्यलाई केन्द्रमा राखी बजेट तथा कार्यक्रम ल्याइएको उल्लेख गरे ।
नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट कार्यान्वयन गर्ने जनाएको छ । बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरको दिगो विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको नगर सभा मार्फत उल्लेख गरेको छ ।
बुद्धभूमिको १ अर्ब ३६ करोड बढीको बजेट पारित
बुद्धभुमि नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटन विकाससहित बार्षिक नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । सो अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले æखुसी नगरबासीः समृद्ध बुद्धभूमिÆ भन्ने मूल नारासहित उनले गुणस्तीय शिक्षा र आधारभुत स्वास्थ्य सुबिधा सुनिश्तिताकालागि शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताए । उनले नगरको गौरव योजना तथा अधुरा योजनालाई प्राथमिकताकासाथ अघि बढाईने बताए । टिक्कर बु्ढढी बिजगौरी सडकलाई यसै बषं संपन्न गर्ने वैदेशिक रोजगारीमा रहेका युवा तथा तिनका परिवारलाई लक्षित गरी æसामी र के हामीÆ कार्यक्रममार्फत सीप, परामर्श तथा सहयोग उपलब्ध गराइने बताए ।
बजारको मागअनुसार सूचना तथा सञ्चार प्रविधिमा आधारित तालिम सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने नीति लिइएको छ । कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्न मासिक रूपमा कृषिबाली तथा पशु स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिने, माटोको गुणस्तर सुधारका लागि प्राङ्गारिक तथा कम्पोस्ट मल प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि प्रविधिको अधिकतम उपयोग गरिने जनाइएको छ । नगरपालिकाले राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सेवा कार्यालय स्थापना तथा सञ्चालन गर्ने नीति पनि अघि सारेको छ । साथै अपांता भएका व्यक्ति, अति अशक्त बिरामी तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइने कार्यक्रम समेटिएको छ ।
नीति तथा कार्यक्रमले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सुशासन तथा नागरिकमैत्री सेवा प्रवाहमार्फत समृद्ध बुद्धभूमि निर्माणको लक्ष्यलाई अघि बढाएको नगरपालिकाले जनाएको छ । पालिकाले आगामी आर्थिक बर्षकालागि १ अर्ब ३६ करोड ५२ लाख ३६ हजारको बजेट सर्वसम्ममत पारित गरिएको प्रवक्ता तेज बहादुर बस्नेतले बताएका छन् ।
शिवराजमा नीति, कार्यक्रमसहितको बजेट पारित
कपिलवस्तुको शिवराज नगरपालिकाले १ अर्ब ४६ करोड १२ लाख ३४ हजार ७ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार भएको १९ औं नगरसभामा शिवराजले उक्त बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । नगरसभामा प्रस्तुत बजेटसहितको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको नगरपालिकाले जनाएको छ ।
नगरसभामा नगर प्रमुख अजय थापाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
नगर प्रमुख थापाले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनमा नगरपालिकाले विशेष ध्यान दिने बताए ।
स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो।
नगरपालिकाभित्र रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास, सडक तथा अन्य पूर्वाधार निर्माण, सरसफाइ, खानेपानी, सामाजिक सुरक्षा र विपन्न नागरिकको पहुँचमा सेवा पु¥याउने विषयलाई समेत प्राथमिकतामा राखिएको नगर प्रमुख थापाले बताए । नगरसभामा उपप्रमुख शिवकुमारी थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा वडा स्तरका योजना तथा विकास निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै सामाजिक विकासतर्फ ६५ लाख रुपैयाँ, शिक्षा तथा खेलकुद क्षेत्रमा ९ करोड रुपैयाँ, स्वास्थ्यतर्फ ५ करोड ३० लाख रुपैयाँ, कृषितर्फ ८५ लाख रुपैयाँ तथा पशु विकासतर्फ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरसभामा उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, नगर प्रहरी गरी झण्डै एक दर्जन बढी व्यक्ति पुरस्कृत भएका थिए ।
विजयनगरको बजेट ६८ करोड ११ लाख
कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशन -वर्षे अधिवेशन) सम्पन्न भएको छ । गाउँसभाले मंगलबार आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ११ लाख ७८ हजार ६ सय रुपैयाँको बजेट प्रस्ताव गरेको छ । प्रस्तुत बजेटमध्ये चालुतर्फ ४९ करोड ९९ लाख ३७ हजार रुपैयाँ -७३.४० प्रतिशत) तथा पुँजीगततर्फ १८ करोड १२ लाख ४१ हजार ६ सय रुपैयाँ -२६.६० प्रतिशत) विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सिँचाई विस्तार तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगार सिर्जना, सामाजिक सुरक्षा, खानेपानी तथा सरसफाई, सुशासन प्रवद्र्धन, गरिबी निवारण, गुणस्तरीय, सर्वसुलभ र आधुनिक शिक्षा तथा स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ ।
साथै कृषि क्षेत्रको विविधीकरण, आधुनिकीकरण र व्यवसायीकरण, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रको सहकार्यमार्फत उत्पादकत्व र आर्थिक वृद्धि, सडक सञ्जाल विस्तार, प्रविधिको विकास तथा विस्तार, सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने तथा विभिन्न धर्म–सम्प्रदायका मौलिक साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई केन्द्रमा राखेर समृद्ध विजयनगर निर्माणको अभियानलाई अघि बढाइने उल्लेख गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रस्तुत बजेट तथा कार्यक्रम समावेशी, जनमुखी र परिणाममुखी रहेको बताउँदै महिलाहरू, बालबालिका, किसान तथा विपन्न समुदायको हितलाई विशेष ध्यान दिइएको जानकारी दिइन् ।
कपिलवस्तु नगरपालिकाको बजेट १ अर्ब ३२ करोड बढी
कपिलवस्तु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख सुदीप पौडेलले २०औँ नगर सभाको प्रथम अधिवेशनमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उक्त बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र समृद्धिलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन्।
नगरसभामा प्रस्तुत बजेटले स्थानीय तहको विकास यात्रालाई थप व्यवस्थित, योजनाबद्ध र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। संघीय संरचना अनुसार स्थानीय सरकारको जिम्मेवारी बढ्दै गएको सन्दर्भमा नगरपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने लक्ष्य लिएको देखिन्छ।
नगर प्रमुख पौडेलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, रोजगार प्रवद्र्धन तथा सुशासनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ। बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेमा नगरवासीको जीवनस्तर सुधार, उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कपिलवस्तुको शुद्धोधन र मायादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३। ८४ को लागि तोकिएको समयमा नीति कार्यक्रम बजेट ल्याउन सकेनन् । कपिलवस्तुका अन्य ७ पालिकाले भने असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट ल्याइसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले नीति कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।
कृष्णनगरमा ७० करोड ७९ लाखको बजेट
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमानि कुल ७० करोड ७९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको आयव्यय विवरण -बजेट) छलफलका लागि प्रस्तुत गरिएको हो ।
प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ २४ करोड ७७ लाख ८६ हजार २ सय ६० रुपैयाँ तथा चालुतर्फ ४६ करोड १ लाख ६७ हजार ३ सय ४० रुपैयाँ विनियोजन गरिएको छ । सभामा आर्थिक विधेयक २०८३/८४ र विनियोजन विधेयक २०८३/८४ समेत पेश गरिएको नगरपालिकाले जनाएको छ । नगरसभाले नीति तथा कार्यक्रम पारित गर्दै बजेटमाथि थप छलफलका लागि अर्को बैठक असार २९ गते बस्ने निर्णय गरेको छ ।
नगर प्रमुख रजत प्रताप शाहले नगरबासीको आवश्यकता र विकास प्राथमिकतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तथा बजेट तयार गरिएको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा विशेष जोड दिइएको बताए । उनले नगरको समग्र विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रस्तुत बजेट महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।
यस्तै उप–प्रमुख आरती देवी चौधरीले समावेशी विकास, महिला सशक्तीकरण तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू अघि बढाइएको बताइन् । उनले नगरसभाबाट पारित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन् ।
यस्तै १० नम्बर वडाका वडा अध्यक्ष तथा नगर प्रवक्ता हरिपाल चतुर्वेदीले सीमित स्रोत–साधनका बीच पनि नागरिकको आवश्यकता सम्बोधन हुने गरी योजनाहरू समेटिएको बताए । उनले नगरबासीको सक्रिय सहभागिता र सहयोगबाट नीति तथा कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार






प्रतिक्रिया