‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’


राजेन्द्र खनाल, कपिलवस्तु । कुनै समय अरूको काम हेरेर रहर जगाएका प्रदिप चौधरी । अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । आफ्नै सीप र सिर्जनशीलताका कारण राष्ट्रिय स्तरको पुरस्कारबाट अहिले सम्मानित पनि भएका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८, बोडगाउँका २५ वर्षीय प्रदीप चौधरी अहिले प्रदिप प्रिन्टिङ् वल्र्ड मार्फत लोकप्रिय र सफल व्यवसायी बनेका छन । उनले हालै नवप्रवर्तनशील सोच र उद्यमशील क्षमताको क्षेत्रबाट राष्ट्रिय युवा परिषद्को सम्मान समेत पाएका छन ् । प्रदिपले लुम्बिनी प्रदेशमा उत्कृष्ठ हुँदै द्धितीय स्थान प्राप्त गरे ।

२०७८ सालदेखि काठलाई आधुनिक उपकरणमार्फत कलात्मक स्वरूप दिने यात्रामा लागेका चौधरीले कुनै औपचारिक ठूलो प्रशिक्षणबिना साथीभाइबाट प्राप्त सामान्य जानकारी र आफ्नै निरन्तर अभ्यासलाई आधार बनाएर व्यवसाय सुरु गरेका थिए। प्रारम्भिक दिनहरूमा सीमित स्रोत, बजारको चुनौती र अनुभवको अभावसँग संघर्ष गर्नुपरे पनि उनले हिम्मत हारेनन्। बरु ती चुनौतीहरूलाई अवसरमा बदल्दै आज सफल युवा उद्यमीको पहिचान बनाउन सफल भएका छन्।

”मैले कहि कतै यो काम औपचारिक रुपमा सिकेका हैन, साथिहरु र अन्य मानिसहरुले गरेको कुरा सुन्दा आफुलाई पनि यस्तै काम गर्न मन लाग्यो र सुरु गरेँ”, उनले भने ।

बाणगंगा–८ बोडगाउँस्थित ‘प्रदीप प्रिन्टिङ वल्र्ड’ मार्फत उनले काठबाट निर्मित मायाको चिनो, सम्मान तथा पुरस्कार सामग्री, फोटो फ्रेम, स्मृति चिह्न र विभिन्न सजावटी सामग्री उत्पादन गर्दै आएका छन्। उनका काष्ठकलाका सामग्री अहिले स्थानीय तहदेखि विभिन्न संघसंस्था र निजी क्षेत्रसम्म लोकप्रिय बन्दै गएका छन्।

‘जे गर्छु नेपालमै गर्छु, आफ्नै गाउँठाउँमै गर्छु’ भन्ने सोचका साथ व्यवसाय गरिरहेका चौधरीले विदेश पलायनभन्दा स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिएका छन्। उनका अनुसार सीप, लगनशीलता र धैर्य भए गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ।

उनको यही नवप्रवर्तनशील सोच र उद्यमशील क्षमताको कदर गर्दै राष्ट्रिय युवा परिषद्ले सम्मानित गरेको हो । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरले आयोजना गरेको æलुम्बिनी प्रदेशस्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी–२०८३æ मा सहभागी भएका चौधरीले आफ्नो व्यवसाय र उत्पादन प्रस्तुत गरेका थिए।

उनले नवप्रवर्तनशील सोच, सूचना प्रविधिको प्रयोग र व्यवसायिक सम्भावनालाई समेटेर प्रस्तुत गरेको स्टार्टअप अवधारणाबाट उत्कृष्ट प्रदर्शन गर्दै नगद पुरस्कारसहित सम्मान प्राप्त गरेका हुन्। उक्त सम्मानले आफूलाई व्यक्तिगत उपलब्धिमात्र नभई कपिलवस्तुको उद्यमशील युवाशक्तिको पहिचानलाई समेत राष्ट्रिय स्तरमा स्थापित गरेको उनको भनाइ छ।

प्रदिपको कार्यकक्षमा सजिएका दर्जनौं पुरस्कार, सम्मानपत्र तथा काष्ठकलाका नमुनाहरूले उनको मेहनत र सफलताको कथा आफैं बोलिरहेका हुन्छन् । काठका सामान्य टुक्राहरूलाई आकर्षक कलाकृतिमा रूपान्तरण गर्ने उनको कला अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।

विदेशिने लहर बढिरहेका बेला आफ्नै गाउँमा बसेर सिर्जना, उत्पादन र रोजगारीको वातावरण निर्माण गरिरहेका प्रदीप चौधरी अब स्वदेशमै आत्मनिर्भताको गतिलो यात्रामा छन् ।

काठमा कला कुँद्दै, सपनालाई आकार दिँदै र गाउँमै सम्भावनाको ज्योति बाल्दै गरेका प्रदीप चौधरी कपिलवस्तुमा मात्र नभई स्वदेशमै भविष्य खोजिरहेका हजारौं युवाका लागि प्रेरणाको नाम बन्न सक्छन् । अहिले आफु यो व्यवसायबाट सन्तुष्ट रहेको बताउँछन् ।

प्रतिक्रिया

खबर सबै