वर्ष ०८२ : एक लाख १० हजारले बढ्यो सुनको भाउ, प्रतिदिन ३०३ !


काठमाडौं । वर्ष ०८२ मा सुनचाँदीको मूल्य अचाक्ली बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो वर्ष सुनको मूल्य एक लाख १० हजार ७०० रुपैयाँले बढेको देखिएको छ । यस्तै, चाँदी २९ सय ४० रुपैयाँले बढेको छ । 

०८१ चैत ३१ मा प्रतितोला सुनको मूल्य एक लाख ८६ हजार थियो । यो वर्षको अन्तिम दिन (०८२, चैत ३०) मा दुई लाख ९६ हजार ७०० कारोबार भइरहेको छ । अर्थात् यो वर्ष सुनको भाउ प्रदिदिन औसतमा ३०३.२८ रुपैयाँले बढेको छ । 

गत वर्ष सुन तोलामा ४७ हजारले बढेको थियो । चाँदी भने २१० रुपैयाँले बढेको थियो । 

कुन महिना कति घटबढ ?

०८२ को पहिलो महिना वैशाखमा ०८१ चैतको तुलनामा ७०० रुपैयाँले बढ्यो । सो महिना प्रतितोला एक लाख ८५ हजार ३०० कायम भयो । 

वैशाखमा घटेको भाउ जेठमा भने बढ्यो । यो महिना ११ हजार ८०० ले बढेर तोलाको एक लाख ९७ हजार १०० रुपैयाँ पुग्यो । त्यसपछि असारमा पाँच हजार १०० सयले घटेर एक लाख ९२ हजारमा झर्‍यो । 

महासंघका अनुसार, साउनको अन्तिम दिन (३० गते) एक लाख ९६ हजार २०० मा खरिदबिक्री भएको थियो, जुन असारको तुलनामा ४२ सयले बढी हो ।

भदौदेखि भने सुनको मूल्य दुई लाख नाघ्न थाल्यो । यो महिना तोलामै २० हजार ९०० ले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको थियो । 

चाडपर्वको महिना असोजमा पनि मूल्य बढ्ने क्रम जारी रह्यो । महासंघका अनुसार यो महिनामा ४० हजार ९०० ले बढ्यो । असोज ३१ को मूल्य दुई लाख ५८ हजार थियो । 

कात्तिकमा आएर केही घट्यो । महासंघको तथ्यांकले यो महिना १५ हजार २०० रुपैयाँले घटेको देखाउँछ । अर्थात् कात्तिकको अन्तिम दिन सुन दुई लाख ४२ हजार ८०० मा कारोबार भएको थियो । 
मंसिरमा प्रतितोला १७ हजार ९०० ले घटेर दुई लाख ६० हजार ७०० मा झरेको सुन पुस अन्तिम फेरि १७ हजार ३०० ले बढेर दुई लाख ७८ हजार रुपैयाँ कायम भयो । 

माघ लागेसँगै सुनको मूल्यले अर्को रेकर्ड बनायो । अर्थात् यही महिनादेखि तीन लाख नाघ्यो । माघमा सर्वाधिक २८ हजार ५०० रुपैयाँले बढ्यो । महासंघका अनुसार, यो महिनाको अन्तिम दिन तीन लाख ६ हजार ५०० मा कारोबार भएको थियो । 

फागुनमा फेरि सुनको भाउ प्रतितोला सात हजार ७०० रुपैयाँले बढ्यो । यो महिना तीन लाख १४ हजार २०० कायम यो । यस्तै, चैतमा भने घटेको छ । महासंघका अनुसार वर्ष ०८२ को अन्तिम महिनामा साढे १७ हजारले घटेको छ । आज (चैत ०८२) दुई लाख ९६ हजार ७०० मा कारोबार भइरहेको छ । 

चाँदीमा २९ सयको वृद्धि

महासंघका अनुसार, यो वर्ष सुन मात्रै होइन, चाँदीको भाउ पनि बढेको छ । ०८१ चैत अन्तिम कारोबार दिन चाँदी प्रतितोला १९ सय ६० रुपैयाँ थियो । आज (०८२, चैत ३०)का लागि चार हजार ९०० मा कारोबार मूल्य तोकिएको छ । 

अर्थात् यो वर्ष चाँदी प्रतितोला २९ सय ४० रुपैयाँले बढेको देखिएको छ । 

प्रतिक्रिया

खबर सबै