

राष्ट्रिय जनमोर्चाको चुनावी अभियान तीव्र ,१५ बुँदे चुनावी घोषणापत्र सार्वजनिक





कपिलवस्तु । राष्ट्रिय जनमोर्चा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव भाट क्षेत्रीले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । जिल्लाको क्षेत्र नं. १ अन्तर्गत बाणगंगा नगरपालिका–6 सुठौलीबाट औपचारिक रूपमा प्रचार–प्रसार अभियान सुरु गरिएको जनाइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार गर्न पाइने भएपछि जनमोर्चाले गाउँ–गाउँमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । अभियानको सुरुआतसँगै उम्मेदवार क्षेत्रीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् ।
जनमोर्चाले राष्ट्रियता र गणतन्त्रको रक्षा गर्दै संघीयताको खारेजी, जनजीविकासँग जोडिएका समस्या समाधान, भ्रष्टाचार अन्त्य, कृषि तथा श्रमिकको हक–अधिकार सुनिश्चित गर्ने लगायतका विषय समेटिएको १५ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, महँगी नियन्त्रण, स्थानीय पूर्वाधार विकास र सुशासनलाई विशेष प्राथमिकतामा राखिएको जनाइएको छ ।
उम्मेदवार क्षेत्रीले देशको वर्तमान राजनीतिक अवस्थालाई सुधार गर्न वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै जनताको प्रत्यक्ष सहभागितामा आधारित विकास मोडेल लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्वका रूपमा लिँदै मतदातासँग विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइने व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार अहिले सबै राजनीतिक दल तथा उम्मेदवारहरूले औपचारिक प्रचार अभियानलाई तीव्रता दिएका छन् ।
क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । जनमोर्चाले भने आफ्नो संगठनात्मक आधार र स्पष्ट राजनीतिक एजेण्डाका कारण सकारात्मक जनसमर्थन प्राप्त भइरहेको दाबी गरेको छ ।
आगामी दिनमा जनमोर्चाले टोल–टोलमा पुगेर मतदाता भेटघाट कार्यक्रमलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

यस्ता छन् प्रतिबद्धता
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि म राष्ट्रिय जनमोर्चाको तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा यहाँहरुको बीचमा उपस्थित भएको छु। अविराम रुपमा देश र जनताको पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय जनमोर्चाले विगतदेखि नै राष्ट्रको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको रक्षा गर्दै आएको छ। यस सन्दर्भमा, म यहाँहरुको अमूल्य मतको अपेक्षा गर्दै निम्न प्रतिबद्धताहरु प्रस्तुत गर्दछु।
१. भ्रष्टाचारको अन्त्य र दिगो विकासका लागि म निरन्तर, निर्भीक र सशक्त संघर्ष गर्नेछु।
२. उद्योग, कृषि तथा पर्यटन विकासका लागि विशेष योजना सहित परिणाममुखी काम गर्नेछु।
३. सहकारी संस्थाहरुमा भएको ठगी र अनियमिततामाथि कडा तथा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाही अघि बढाइनेछ।
४. कपिलवस्तु–तिलौराकोटलाई केन्द्रमा राखी बौद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई एकीकृत गर्दै बौद्ध पर्यटनको विकास गरिनेछ।
५. कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका प्रत्येक पालिकाका प्रमुख केन्द्रहरुलाई जोड्ने सडक सञ्जाल निर्माण तथा विस्तार गरिनेछ।
६. शिक्षा र स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक अधिकारको रुपमा सुनिश्चित गर्न आवश्यक नीति निर्माण गरिनेछ।
७. ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, एकल महिला तथा विपन्न वर्गका नागरिकहरुको हक, अधिकार र सुरक्षाका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ।
८. कपिलवस्तुमा रहेको कृषि क्षेत्रलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गरी भूमिको चक्लाबन्दी, सिँचाइ व्यवस्था र आधुनिक कृषि प्रविधिको विस्तार गरिनेछ।
९. “जनतामा जाऔं, जनताबाट सिकौं र जनतालाई सिकाऔं” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जनताको सेवामा समर्पित रहनेछु।
१०. कृषि, पशुपन्छी तथा माछा उत्पादन विस्तार गरी रोजगारी सृजना गर्ने कार्यक्रम अघि बढाइनेछ।
११. लक्ष्मणघाट, कपिलधाम, सिसहिया, मधुवनधाम, अरोनाकोट, निगलीकोट, लखनौर, जगदीशपुर ताल लगायतका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको संरक्षण र प्रवर्द्धन गरिनेछ।
१२. संवेदनशील चुरे क्षेत्र, सिमसार तथा वनजंगलको संरक्षणका लागि विशेष योजना लागू गरिनेछ।
१३. स्थानीय कृषि सामग्री तथा कच्चा पदार्थको प्रयोग गरी कृषि तथा उद्योगको विकास गरिनेछ।
१४. युवाहरुमा बढ्दो बेरोजगारी, विदेश पलायन तथा लागुऔषध दुरुपयोग रोक्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ।
१५. शिक्षालाई सर्वसुलभ, गुणस्तरीय तथा व्यवहारिक बनाउँदै रोजगारमुखी शिक्षा नीति लागू गरिनेछ।
उम्मेदवार क्षेत्रीले भ्रष्टाचार अन्त्य, दिगो विकास र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योग, कृषि तथा पर्यटन प्रवर्द्धनका लागि विशेष योजना ल्याउने, सहकारी क्षेत्रमा देखिएको ठगी तथा अनियमिततामाथि कडा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने उनले बताएका छन्।
कपिलवस्तु–तिलौराकोट केन्द्रित बौद्ध पर्यटन विकास, पालिकाका प्रमुख केन्द्र जोड्ने सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने नीति निर्माण उनका मुख्य एजेण्डा रहेका छन्। ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित तथा विपन्न वर्गका हक–अधिकार र सुरक्षाका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।
कृषि क्षेत्रलाई व्यावसायिक उत्पादनतर्फ रूपान्तरण, सिँचाइ र आधुनिक प्रविधिको विस्तार, पशुपन्छी तथा माछा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने योजना उनले अघि सारेका छन्। साथै, चुरे क्षेत्र, सिमसार तथा वनजंगल संरक्षण, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग विकास र युवामा बढ्दो बेरोजगारी तथा लागुऔषध दुरुपयोग नियन्त्रणमा जोड दिने उनले बताएका छन्।
उम्मेदवार क्षेत्रीले “जनतामा जाऔं, जनताबाट सिकौं र जनतालाई सिकाऔं” भन्ने मूल मन्त्रसहित जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन् ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया