आज ‘जनयुद्ध’ दिवस, खै माओवादी ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्ध सुरु भएको शुक्रबार (आज) ३० वर्ष पूरा भएको छ। तर, जनयुद्ध सुरु गर्ने माओवादीको मूलधारको दलीय पहिचान भने ३०औँ वर्ष पुग्दा आएर लगभग समाप्त भएको छ।

माओवादीले भन्ने गरेको जनयुद्ध (संविधानले यसलाई सशस्त्र विद्रोह मानेको छ) सुरु गर्दा नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए।  प्रचण्ड नेतृत्वको माओवादी विभिन्न दलहरूसँग एकीकरण हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ।

तत्कालीन माओवादी विभिन्न समूहमा विभाजित भएर फरक–फरक नाममा राजनीतिमा सक्रिय छन्।  प्रचण्ड संयोजक रहेको नेकपाले ‘जनयुद्ध दिवस’ मनाउनेबारे बिहीबारसम्म कुनै कार्यक्रम सार्वजनिक गरेको छैन।

नेकपाका नेताहरूले पनि ‘जनयुद्ध दिवस’ मनाउनेबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। एक नेताका अनुसार,  “जनयुद्ध गरेको माओवादी आज छैन। जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड हुनुहुन्छ। तत्कालीन माओवादी विभिन्न समूहमा विभाजित हुँदै गयो। प्रचण्ड नेतृत्वको माओवादी विभिन्न पार्टीसँग एकीकरण गर्दै अहिले नेकपा भएको छ। तर, जनयुद्ध दिवस मनाउने कुनै योजना वा निर्णय भएको छैन।”

२० भन्दा बढी दल र समूहसँग एकता गरे पनि हाल नेकपाको ठूलो हिस्सा तत्कालीन माओवादी पृष्ठभूमिको छ। तर, एमाले हुँदै नेकपा (एकीकृत समाजवादी) बाट प्रचण्डसँग एकता गरेका माधव नेपाललगायत नेताहरू समेत साथमा रहेकाले ‘जनयुद्ध दिवस’ मनाउने विषयमा प्रचण्डले खुलेर निर्णय गर्न नसकेको पूर्वमाओवादी नेताहरूको भनाइ छ।

पार्टीले औपचारिक कार्यक्रम नगर्दा माओवादी पृष्ठभूमिका नेताहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले प्रचण्डसहित नेतृत्वमाथि विभिन्न आरोप लगाएका छन्। केही नेताहरूले प्रचण्डले जनयुद्धको मूल्य र मर्मलाई त्यागेको आरोपसमेत लगाएका छन्।

जनयुद्धमा सहभागी एवं नेकपाका नेता देव गुरुङले पार्टी तहबाट ‘जनयुद्ध दिवस’ मनाउने निर्णय नभएको बताए। २१ फागुनको निर्वाचनका कारण पार्टी चुनावी अभियानमा केन्द्रित भएकाले औपचारिक कार्यक्रम नबनेको उनको भनाइ छ।

“जनयुद्ध दिवसबारे पार्टीले कुनै निर्णय गरेको छैन। यद्यपि चुनावी अभियानसँगै दिवस मनाउने प्रयास हुन्छ,” गुरुङले भने।  यसअघि माओवादीले ‘जनयुद्ध दिवस’ विभिन्न कार्यक्रम गरी मनाउँदै आएको थियो। तर अहिले दिवस मनाउने स्पष्ट नेतृत्व र संरचना नभएकाले औपचारिकता हराउँदै गएको देखिन्छ।

_85940145_nepal_maoists_g

नेकपाका अर्का नेता जगन्नाथ खतिवडाले पनि पार्टीले कुनै कार्यक्रम तय नगरेको बताए।  “बिहीबारसम्म नेतृत्व तहबाट कुनै सर्कुलर आएको छैन। के कार्यक्रम गर्ने भन्ने निर्देशन प्राप्त भएको छैन,” उनले भने।

शान्ति प्रक्रियामा आएपछि र विभिन्न दलसँग एकता गरेपछि प्रचण्डले पार्टीको नामबाट ‘माओवाद’ र ‘माओवादी’ शब्द हटाइसकेका छन्। यद्यपि, जनयुद्ध लडेका धेरै नेताहरू असन्तुष्ट हुँदै छुट्टाछुट्टै दल गठन गरेर राजनीतिमा सक्रिय छन्।

तीमध्ये नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्धकालीन नाम र पहिचानलाई निरन्तरता दिएको छ। यो पार्टी निर्वाचन आयोगमा दर्ता छ र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताको तयारीमा छ।

त्यस्तै, सिपी गजुरेल महासचिव रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी सक्रिय छ, जसले धेरैअघि नै ‘माओवाद’ र ‘माओवादी’ शब्द हटाइसकेको छ। धर्मेन्द्र बाँस्तोला महासचिव रहेको नेकपा (बहुमत) पनि माओवादी पहिचानबाट टाढा पुगिसकेको छ।

माओवादी जनसरकारका पूर्व प्रमुख तथा जनयुद्धकालीन प्रभावशाली नेता डा. बाबुराम भट्टराई, हिसिला यमी लगायतले पनि माओवाद त्यागिसकेका छन्।

जनयुद्धकालीन कमाण्डर जनार्दन शर्मा, सुदन किराती लगायत नेताहरूले समेत हालै प्रचण्डबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर चुनावी अभियान सञ्चालन गरिरहेका छन्।

(याे समाचार राजधानी दैनिकले प्रकाशन गरेकाे छ)

प्रतिक्रिया

खबर सबै