सुन्तलाका दाना झर्न थालेपछि मालारानीका कृषकहरू चिन्तित

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकामा सुन्तलाका दाना झर्न थालेपछि कृषकहरू चिन्तित भएका छन्। व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका कृषकहरू लटरम्म फलेका सुन्तला झर्न थालेपछि मालारानी गाउँपालिका–२ डाडाकटेरीका कृषकहरू चिन्तित भएका हुन्।

स्थानीय कृषक निमानन्द भुसालले भने,‘बगैँचामा झण्डै साढे चार सय सुन्तलाका बोट छन्। ३ सयभन्दा बढी सुन्तलाको रुखमा लटरम्म दाना लागेका थिए। तर अहिले दाना झरेर सकिन थालेका छन्।’

गर्तवर्ष सुन्तलाको बिक्रीबाट ३ लाख आम्दानी भएको कृषक भुसालले बताए। यसवर्ष झण्डै ५ लाखको सुन्तला बेच्ने लक्ष्य रहेको भन्दै उनले सुन्तला झरेर सकिन थालेपछि लक्ष्य पुरा नहुने उनले बताए।

बोटमा लागेका दाना झर्नुका साथै सुन्तलामा ढुसी देखापरेको डाडाकटेरीका कृषक रबिलाल भुसाललले बताए। उनका अनुसार डाडाकटेरीमा झण्डै ४० जना कृषकहरू व्यवसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् ।
सुन्तला झर्न थालेपछि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले स्थलगत अवलोकन गरेको छ। कृषि ज्ञान केन्द्रका प्राविधिक सारदा आचार्यले झरेका सुन्तलाको ल्याब परीक्षणका लागि नमुना लिइएको बताइन्।

आचार्यले भनिन्,‘लामो समय खडेरी परेको र त्यसपछि वर्षा भएका कारण सुन्तलाको बगैँचा व्यवस्थापनको समस्याले सुन्तला झरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। परीक्षणका लागि झरेका सुन्तला ल्याबमा पठाएका छौँ। ल्याबको रिपोर्ट अनुसार वास्तविक समस्याको पहिचान हुने छ।’

अर्घाखाँचीको मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा व्यवसायिक रूपमा सुन्तला खेती गरिँदै आइएको छ। जिल्लामा झण्डै एक हजार हेक्टरमा सुन्तला खेती हुँदै आएको छ।

अन्नपूर्णबाट

प्रतिक्रिया

खबर सबै