हराउँदै छ भलवाडको एउटा कष्ट, ‘कोइलीमा पुल’ निर्माण अन्तिम चरणमा

साझाकुरा | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको अवस्थामा यहाँका स्थानीय पनि खुसी भएका छन् ।

पुल निर्माण आयोजनाका साइट इन्जिनियर सुनिल थापाका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ । अब केहि काम मात्रै बाँकी रहेको उनले साझाकुरासँग बताए । पुल निर्माणको जिम्मा पाएको श्री श्रेष्ठ / एन वि जेभी, बुटवलले आयोजना निर्माणको सम्झौता २०८१ असार २० गते गरेको थियो। ठेकेदार कम्पनीले यो पुल २ वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको भएता पनि सम्झौताको मिति भन्दा अघि नै निर्माणसकिने साइट इन्जिनियर थापाले बताए ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ९ स्थित यो पुलको आयोजना RIDOKAP/१०१३४/NCB/८०–८१/७६ नामक ठेक्का अन्तर्गत गत वर्ष अघि बढाइएको थियो ।

यस्तो छ पुलको विशेषता
पुलको लम्बाईः ७० मिटर
पुलको उचाईः ३.७५ मिटर जमिन माथि,
पुलको चौडाईः १० मिटर (७.५ मिटर क्यारेज वए र १.२५ मिटर फूटपथ दुवैतर्फ)
पुलको किसिमः प्रेस्ट्रेस ब्रिज पाइल फाउण्डेसन
अन्य कार्यः पुलको दुवैतर्फ पहुंच मार्ग निर्माण लगाएत ।

यो आयोजना भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशको योजना अन्र्तगत सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु द्वारा निर्माण सुरु भएको थियो । प्राविधिक सहयोग स्थानीय सडक पूल कार्यक्रम, ललितपुरबाट प्रदान भएको आयाजनाले जनाएको छ ।
गरिने जनाइएको छ ।

वर्षाै देखि अलपत्र अवस्थामा रहेको बनगाई–मोतिपुर–भलवाड– डोहोटे सडक खण्डको कोइली खोलामा पुल नहुँदा यहाँका स्थानीय सास्तीपूर्ण र जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको अवस्थामा अब पुल निर्माणको अन्तिम चरणमा अएको भन्दै यसै वर्षायाममै पुलबाट यात्रा सुरु हुने अवस्थामा निर्माण कार्य पुगेको वडा अध्यक्ष कमल पौडेलले बताए । खासगरी वर्षायामका बेला यहाँका स्थानीयले जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए ।

पुर्व पश्चिम राजमार्ग देखि बाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ हुँदै अर्घाखाँचीको सितगंगा नगरपालिका स्थित गोरुसिँगे–सन्धिखर्क सडक खण्डसँग जोडिने यो सडक पुल नहुँदा पछि परिरहेको छ । कोइली (क) मा यस अघि पुल बनिसकेको भए पनि कोइली (ख)मा पुल बन्न बाँकी थियो ।

कति छ लागत ?

अनुमानित लागतः रु. ११,४९,०२,८००।७३ (म.अ.क. सहित)
कुल लागत (ठेक्का सम्झौता रकम) : रु. ९,०३,७८,०६८।७४ (म.अ.क. सहित)

यस पुलको निर्माणले स्थानीय यातायात र सडक सञ्जालको संचारमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ ।
यद्यपी यस सडक खण्डको कोइली खोला(क) र कोइली खोला (ख) दुबैमा पुल नहुँदा हाल सम्म नागरिकहरु सास्तीपूर्ण तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । अब भने यी दुबै खोलामा पुल निर्माण भएसँगै नागरिकको यात्रा सहज हुने छ भने वडा नम्बर ९ भलवाडसँगै यस क्षेत्रको अन्य विकासमा समेत यसको प्रभाव पर्ने देखिएको छ ।

प्रतिक्रिया

खबर सबै