जगदिशपुर तालमा रोकिएका ‘स्टीमर’ फेरी संचालन ! ८ लाख बढीको ठेक्का (भिडियोसहित )

साझाकुरा, कपिलवस्तु | जल पन्छीहरुको राजधानी भनेर चिनिने कपिलवस्तुको जगदिशपुर तालमा गत वर्ष बन्द गरिएका मोटरबोट (स्टीमर) फेरी संचालनमा ल्याएको छ । चराहरुको वासस्थान र जल पन्छीको आगमनमा असर पारेको भन्दै गत वर्ष यहाँ मोटरबोट संचालनमा रोक लगाइएको थियो ।

ज्गदिशपुर तालमा मोटरबोट संचालन गर्दा तालमा रहने चराको वासस्थान बिथोलिएको, जैविक विविधता र वातावरणमा असर पुगेको भन्दै डिभिजन वन कार्यालयले मोटरबोट सञ्चालनमा रोक लगाएको थियो । तर हाल भने जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले मोटरबोट संचालन सँगै यहाँको पर्यटकीय स्थलको ठेक्का लगाएको छ ।

यही बैशाख देखि मायादेवी गाउँपालिका ३ का बिनोद पालले तालको ८ लाख ५० हजारमा आफूले ठेक्का पाएको बताए । उनका अनुसार एउटा मोटरबोट हाल संचालन गरिएको छ । एउटा मोटरबोटमा पर्यटक सवार गराएको उनले १ हजार ३ सय ५० रुपैयाँ लिने गर्दछन् । तालाम मोटरबोट सँगै भ्यू टावर बाट समेत उनले यहाँ पुग्ने पर्यटकबाट रकम लिने गर्दछन् ।
गत वर्ष पनि यसैगरी मञ्चले संचालनका लागि ठेक्का लगाएको तालमा मोटरबोट संचालन गर्दा असर परेको भन्दै कार्तिक २८ गते देखि तालमा मोटरबोट सञ्चालनमा रोक लगाइएको थियो ।

१५७ हेक्टरमा फैलिएको तालमा हिउँदमा बर्सेनि १५ देखि २० हजार पानी चराले आश्रय लिने गर्छन् । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल नेपालकै दोस्रो पक्षी आरक्ष क्षेत्रको रुपमा रहेको छ । हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया र युरोपबाट चरा यहाँ आउने गर्छन् । तर यतिबेला चराहरु आउने समय नरहेको भन्दै तालमा मोटरबोट संचालन गरिएको बताइएको छ ।

जलपंक्षीहरूको आगमन बढ्न थालेपछि यो ताललाई सन् २००३ मा विश्वसीमसार क्षेत्रमा सूचीकृत गरिएको थियो। यो ताललाई नेपाल सरकारले १ सय पर्यटकीय क्षेत्रभित्र समेटेर पर्यटन प्रवद्र्धनका कार्यक्रममा सघाउ पु¥याउँदै आएको छ भने लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशका २० वटा पर्यटकीय क्षेत्रको सूचीभित्र यो ताललाई पनि समेटेको छ। तर यहाँ डुंगा चलाएर पर्यटक ल्याउने भन्दा पनि बर्ड वाचिङ र जैविक विविधताको क्षेत्रबाट यसको विकास गर्नुपर्छ भन्ने आवाज उठ्ने गरेको छ।

प्रतिक्रिया

खबर सबै