कोरोना कालमा कृष्णनगरमा बनाइएको करोडौँको ‘होल्डिङ सेन्टर’ प्रयोगविहिन

साझाकुरा, कृष्णनगर | कपिलवस्तुको कृष्णनगरमा करोडौँ रकम खर्च गरी बनाइएको होल्डिङ सेन्टर प्रयोगविहिन बन्दा यहाँका सामान तथा सामग्रीहरुको चोरी हुने क्रम बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण कोरोना पिडित बिरामीहरुलाई उपचारका लागि राख्ने उद्देश्यले निर्माण गरिएको यो संरचना हाल अन्य प्रयोजनमा आउन नसक्दा चोरी बढेको हो । कोरोनाका बेला निर्माण भएको होल्डिङ सेन्टर अलपत्र भएकाले भित्रि सामानसमेत चोरी हुन थालेका स्थानीयले बताए ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला निर्माण सुरु भएको कृष्णनगर भन्सार र शिवानगर गाउंमा रहेका एक हजार बेडका होल्डिङ सेन्टर अहिले प्रयोग विहिन छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका १ सेमरा र शिवानगरमा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र परेको छ । १ हजार बढीलाई राख्न सकिने क्षमताको उक्त होल्डिङ सेन्टर सञ्चालनका विषयमा अझै पनि अन्योलता रहेको छ ।

उक्त क्षेत्रमा १ हजार बेड क्षमताका भान्साघर, डाइनिङ हल तथा शौचालय जस्ता संरचना निर्माण भएका छन् । भवनभित्र बेडदेखि कुर्सी टेबुलहरू पनि राखिएका छन् । तर तिनको रेखदेख गर्ने नेपाली सेना रहेकाता पनि भित्रि संरचनाका विभिन्न सामानहरु पछिल्लो समय चोरी भएका छन्् ।

कोरोना संक्रमण तीव्र बढ्न थालेपछि सरकारले २९ करोड ९९ लाखमा नेपाली सेना मातहत दुईवर्ष पहिला उक्त होल्डिङ सेन्टर निर्माण गरेको थियो । भारतबाट घर फर्किनेहरूमा संक्रमण देखिए कृष्णनगर नाका हुँदै जाने नेपाली सोही क्षेत्रका होल्डिङ सेन्टरमा होम आइसोलेसनमा राख्ने लक्ष्य राखिएको थियो । ‘संरचना निर्माण सकेर होल्डिङ सेन्टर निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले नेपाली सेनालाई हस्तान्तरण गरेपनि हालसम्म कुनै निकायको मताहतमा यो संरचना नपुगेको बुझिएको छ ।

नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले करोडौंको लगानीमा बनेको होल्डिङ्ग सेन्टरलाई प्रहरी वा अन्य सरकारी निकायको विद्यालय बनाउनु बेस हुने बताउँछन् । उनले आफ्नो पार्टी सत्तामा रहेकाले आफू सक्दो पहल गरि प्रहरी विद्यालय वा कलेज संचालन गराउन लागिपर्ने दाबी गरे ।

यस्तै अस्पताल कै संरचना बनाईएकाले प्रदेश वा संघ सरकारले आकस्मिक अस्पताल संचालन गरे भारतमा उपचार गर्न जाने नेपालीको लागि राहत हुने कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहको भनाइ छ । नगरप्रमुख शाहले अस्पतालका सन्दर्भमा कृष्णनगर क्षेत्रमा शिवराज अस्पताल , आँखा अस्पताल र निजि अस्पताल छन तर प्रदेश वा संघ स्तरका अस्पताल यस क्षेत्रको लागि आवश्यक रहेकाले होल्डिङ्ग सेन्टरलाई अस्पताल नै बनाउदा उत्तम हुने बताउँछन् ।

सिमा नाकाका बजार चलायमान बनाउन भारत लगायतका पर्यटकका लागि रिफ्रेसमेन्ट सेन्टर बनाउदा अर्थतन्त्रलाई टेवा पुग्ने उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माको शुझाव छ । भारतबाट आउने पर्यटकका लागि विश्रामस्थलका रुपमा होल्डिङ्ग सेन्टरलाई संचालन गर्न सरकारले आवश्यक कदम उठाउंदा बजार चलायमान हुन्थयो साथै देशको अर्थतन्त्रमा समेत मद्दत पुग्थयो । उनले भने ।

कोरोना संक्रमणका बेला होल्डिङ सेन्टर सञ्चालनार्थ उक्त संरचना बनाइएको भए पनि यो प्रयोगमा आउन सकेन । भारतमा कोरोना संक्रमण पनि कम देखिन थालेपछि नेपाल भित्रिने नेपाली सिधै आफ्नो घर पुग्न थाले । संक्रमण समान्य अवस्थामा आएसँगै यी संरचना अहिले अलपत्र बनेका छन् । अहिले यहाँका करोडौँका संरचना तथा सामानहरु समेत प्रयोगविहिन हुँदा जीर्ण बन्दै गएका छन भने चोरी समेत बढेको पाइएको छ ।

प्रतिक्रिया

खबर सबै