

स्ववियु निर्वाचन केन्द्रित नेविसंघ कपिलवस्तुको विशेष बैठक, रणनीति तथा संगठन विस्तारका विषयमा छलफल





नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति कपिलवस्तुको विशेष बैठक आगामी चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै सम्पन्न भएको छ। बैठक २०८१ फागुन १० गते शनिबार तौलिहवास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्पन्न भएको हो। यस बैठकमा स्ववियु निर्वाचनका तयारी, रणनीति तथा संगठन विस्तारका विषयमा गहन छलफल गरिएको थियो।
नेविसंघ कपिलवस्तुका अध्यक्ष चन्द्रकान्त पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा नेविसंघ केन्द्रीय सदस्य तिलकराम पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। साथै, बैठकमा नेविसंघ जिल्ला उपाध्यक्ष मीन थापा, सन्जय खनाल, सुमन खड्का, जिल्ला कोषाध्यक्ष तथा कपिलवस्तु बहुमुखी क्याम्पसका उपसभापति बिरेन्द्र प्रताप यादव, नेविसंघ जिल्ला प्रवक्ता सुबास पौडेल, शिवराज नगर सभापति सन्तोष बिस्ट, यशोधरा पालिका सभापति इशान पाठक, कृष्णनगर नगर सभापति हिमान्सु श्रीवास्तव, फलाहरी बाबा बहुमुखी क्याम्पस इकाई सभापति निजामुद्दिन खाँन, सिद्धार्थ क्याम्पस स्ववियु सभापति निलकमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने तथा विभिन्न क्याम्पसका स्ववियु सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा सहभागीहरूले आसन्न स्ववियु निर्वाचनका लागि विभिन्न विषयमा छलफल गर्दै आवश्यक तयारीका उपायहरू पहिचान गरे। बैठकमा सहभागी विद्यार्थी नेताहरूले स्ववियु निर्वाचनमा नेविसंघका उम्मेदवारहरूको जित सुनिश्चित गर्न आवश्यक रणनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। संगठनात्मक सुदृढीकरण, विद्यार्थी मतदाता परिचालन तथा क्याम्पसस्तरमा प्रभावकारी अभियान सञ्चालनका लागि कार्ययोजना बनाउने विषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रममा नेविसंघका विभिन्न पदाधिकारीहरूले आफ्ना धारणा राख्दै विद्यार्थी हकहितका लागि नेविसंघले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलकराम पाण्डेले नेविसंघ विद्यार्थी अधिकारको पहरेदार भएको उल्लेख गर्दै आसन्न स्ववियु निर्वाचनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूबीच सहकार्य र आपसी समझदारी जरुरी रहेको बताउँदै संगठनलाई बलियो बनाउन सबै तहका विद्यार्थी नेताहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस विशेष बैठकमा विभिन्न क्याम्पस इकाई तथा पालिका कार्यसमितिहरूका प्रतिनिधिहरूले पनि आ-आफ्ना विचार तथा सुझाव प्रस्तुत गरेका थिए। बैठकमा स्ववियु निर्वाचनमा उम्मेदवार चयन प्रक्रिया, प्रचार-प्रसारका उपाय तथा विद्यार्थीहरूसँगको समन्वय कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका स्वागत मन्तव्य नेविसंघ जिल्ला उपाध्यक्ष सन्जय खनालले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन नेविसंघ जिल्ला सहसचिव सोना पाण्डेले गर्नुभएको थियो।
बैठकले स्ववियु निर्वाचनका लागि आवश्यक पूर्वतयारी, विद्यार्थीहरूको आवश्यकताका आधारमा निर्माण गरिने घोषणापत्र तथा निर्वाचनको रणनीति तय गर्दै सम्पन्न भएको छ। बैठकमा भएका महत्वपूर्ण निर्णयहरू आगामी दिनमा कार्यान्वयन गर्दै विद्यार्थीहरूको हकहितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया