

बाणगंगामा थालियो बहुऔषधीय गुणयुक्त विजयसालबाट भाँडा निर्माण





राजेन्द्र खनाल, कपिलवस्तु | कपिलवस्तुको बाणगंगा स्थित एक सामुदायिक वनले बिजय सालको काठबाट गिसाल बनाउन सुरु गरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुहले बिजय सालको काठबाट गिलास बनाउन सुरु गरेको हो ।
सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार बिजयसाल आर्युवेद गुणले भरिपुर्ण काठ भएका कारण गिलास बनाउन थालिएको बताए । उनले विजयसालबाट निर्मित काठको गिलासमा पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्ने थाहा पाएपछि वनले गिलास बनाउने सोचका साथ यो कार्य थालिएको जानकारी दिए । उनले गिसाल बाहेक अन्य भाडा पनि बनाइने बताए ।
बहुऔषधीय गुणले भरिपूर्ण मानिने विजयसाल तराइका वन क्षेत्रमा पाइन्छ । यो एक वहुवर्षीय रुख हो । खासगरी यो रुख काठका भाँडा बनाउन, फर्निचरबाट विभिन्न सामग्रीहरु बनाउन, गाइवस्तुका लागि घाँसका लागि बढी प्रयोग हुने गरेको छ । तर पछिल्ला वर्षमा भने अवैध रुख कटानीका कारण विजयसाल लोप हुने अवस्थामा समेत पुगेको छ । वन क्षेत्रका खाली स्थानमा विजयसालको संरक्षणका लागि वृक्षरोपण अहिलेको आवश्यकता बनेको छ ।
विजयसाल परम्परादेखि नै आर्युवेदिक औषधीको रुपमा प्रयोग हुँदै आएको जानकारहरु बताउँछन् । विजयसाल दम, मुटुरोग, ग्याष्ट्रिक, चर्मरोग, चोटपटक, मर्केको र सुन्निएको ठिक गर्न परम्परादेखि प्रयोग हुदै आएको छ । विजयसालको काठबाट बनेका भाँडा बजार क्षेत्रमा पाइने गरेका छन् । ती भाँडाको माग पनि अत्यधिक छ ।
विजयसालको वैज्ञानिक नाम टेरोकार्पस मार्सुपियम रहेको छ । अङ्ग्रेजीमा यस रुखलाई इण्डियन कीनो ट्री भन्ने गरिन्छ । यो रुख प्रजातिको वनस्पति समुन्द्री सतहदेखि एक हजार मिटरदेखि एक हजार ४०० मिटरको उचाइसम्म पाइने गरिन्छ । नेपालसहित भारत, श्रीलङ्कालगायतमा विजयसाल पाइन्छ ।
विजयसालको औषधीय प्रयोग
विजयसाल मधुमेह, कुष्ठरोग र चर्मरोग, जीउमा सेतो दाग र रातो, गहिरो घाउ आएमा, पिसावका कारण हुने रोग, आँखाको सङ्क्रमण, हात्तीपाइले रोग, पखाला, ग्याष्ट्रिकका कारणले मुटु पोल्नेलगायतका रोगको उपचारमा परम्परागतकालदेखि प्रयोग हुँदै आएको छ ।
यसका अतिरिक्त रक्त विकार जस्ता रोगका उपचार गर्न तथा रगत बग्ने रोक्न, दुखाई कम गर्न र पेटमा जुका परेमा यसको काठलाई पानीमा रातभरि भिजाउँदा प्राप्त हुने पानी सेवन गरिन्छ । दाँत दुख्दा यसको बोक्रा दलिन्छ । फोडा–फुन्सी, घाउ र चर्मरोगमा यसको पातको रस दलिन्छ । चरक संहितामा समेत विजयसालको काठबाट दन्तमञ्जन गर्दा दात, छाला र आँतसम्बन्धी रोगबाट मुक्ति पाइने कुरा उल्लेख गरिएको छ ।
मायाको चिनो
विजयसालका भाँडाकुँडा उपहारका रुपमा दिने चलनसमेत शुरु भएको छ । सभा समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि र आफन्त इष्टमित्रलाई विशेष अवसरमा उपहारका रुपमा विजयसालको काठबाट बनेका कचौरा, गिलास र अम्खोरा उपहारका रुपमा दिने गरिँदै आएको छ । विजयसालको काठबाट बनेका भाँडाकुँडामा राखेको पानी पिउनाले विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वासका कारण यसको प्रचलन एक दशक यतादेखि बढ्दोरुपमा रहेको छ ।
कोइलीचौर सानाकिसान सामुदायिक वनले हाल वन क्षेत्रमा विजयसालको संरक्षणका कार्यलाई पनि जोड दिएको अध्यक्ष भुसालले बताए । उनका अनुसार तत्काल वन क्षेत्रबाट उत्पादित काठहरुको लिलाम बिक्रि भइ रहेका तथा खोलाले बगाइ ल्याएका त्यस्ता काठको सदुपयोग पनि गर्ने उद्धेश्यले यो कार्य थालिएको हो । यस्तै उनले वन क्षेत्रमा रोपिएका बाँसबाट पनि घरायसी प्रयोजन तथा सजावटका लागि पनि भाँडा बनाउने योजना रहेको बताए । वन क्षेत्रमा हाल विजयसालका रुखहरु कम मात्रा रहेका कारण विजयसालका बिरुवा रोप्ने र ति बिरुवा हुर्काएर उत्पादन पनि लिने योजना रहेको उनको भनाइ छ । वनको लगानीमा उत्पादन गरिएका विजयसालबाट निर्मित सामग्रीको बजारीकरण पछि वनकै आम्दानीमा बृद्धि हुने विश्वास समेत छ । आफ्नो वनक्षेत्रमा विजयसाल कम भएका कारण अन्य सामुदायिक वनहरुबाट लिलाम बिक्रीपछि रहेका काठ खरिद गरी सामग्री निर्माण गरिने वनको योजना छ । हाल कोइलीचौर साना किसान सामुदायिक वनले गिलास र प्लेट बनाइरहेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया